ब्रान्ड युद्धमा विश्व जितिरहेको नेपालको- वाइवाइ

विनोद चौधरी मात्रै होइन, अब छिट्टै तपाईं पनि बन्नुहुनेछ वाइवाइको मालिक



काठमाडौं । आइफोन वा टेस्लाको नाम लिनासाथ उपभोक्ताहरुले विश्वभर अमेरिका सम्झन्छन् । यस्तै, टोयोटा भन्ने बित्तिकै जापान, टाटा भनेपछि भारत अनि हुवाई भनेपछि चीन सम्झन्छन् ।

त्यसो हो भने के उत्पादनको नाम लिँदा मुलुक बाहिर पनि नेपाल सम्झछन् त उपभोक्ताहरुले ?

भारतको पञ्जाबस्थित लब्ली युनिभर्सिटीमा स्नातक अध्ययनरत नेपाली विद्यार्थी यशस्वी सापकोटा भारतबाट क्लिकमान्डुसँग कुरा गर्दै भन्छिन्, ‘वाइवाइ भन्नासाथ नेपाल सम्झछन् मेरा सहपाठीहरु ।’

सापकोटाका अनुसार होस्टेलमा वा हेस्टेल बाहिर सबै ठाउँमा युवाहरुको रुचीकाे नेपाली उत्पादन हो, वाइवाइ ।

किन त ?

भारतमा अध्ययनरत नेपालीमात्र नभएर अन्य मुलुकका उपभोक्तामाझ वाइवाइ लोकप्रिय हुनुको कारण सजिलो छ, फुर्सदमा स्टोर जाँदा ल्याएर राख्यो अनि आफूलाई मन लागेको समय तयार गर्‍यो, खाजाको रुपमा वा कहिलेकाहीँ त खानाकै रुपमा पनि। कहिलकाँहि काँचै पनि खान मिल्ने ।

आफ्नो स्वाद र रुचीअनुसार तयार गर्न पनि सकिने भएका कारण पनि वाइवाइको माग बढेको उनीहरुको भनाइ छ । भारतका ७ राज्यमा बाहेक बंगलादेश अनि युरोपको सर्बिया र काजखस्तान, इजिप्ट र इटालीमा पनि वाइवाइको प्लान्ट नै छ । त्यसबाहेक पनि आज विश्वका धेरै देशमा वाइवाइ पाइन्छ ।

वाइवाइ मात्र नभएर नेपाली उत्पादनहरु, सूर्य चुरोट, गोल्डस्टार, सोनाम, शेर्पालगायतका नेपाली ब्रान्डहरुले विश्वमा उडान फैलाउन सुरु गरेका छन्, पछिल्ला वर्षहरुमा । तर, विश्वभर फैलिएको नेपालको पहिलो उत्पादन वा ब्रान्ड हो- वाइवाइ । जसले अन्य नेपाली ब्रान्डलाई विश्वबजार पनि छ भनेर बाटो देखायो ।

वाइवाइको यो विश्व यात्राको पाइलट हुन् चौधरी समूहका अध्यक्ष विनोद चौधरी । अहिले उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमबाट जननिर्वाचित सांसद पनि हुन् । वाइवाइको आजको विश्व बजारमा उपस्थितिमा आफ्नो धेरै पसिना बगेको बताउँछन् उनी ।

‘एउटा गरिब देशले पनि आफ्नो उत्पादन संसारभर लोकप्रिय बनाउन सक्छ भन्ने कुरा प्रमाणित गर्न मैले धेरै पसिना बगाउनु पर्‍यो,’ चौधरीले क्लिकमान्डुसँग भने ।

डलर अर्बपतिहरुको सूची छाप्ने फोर्ब्स पत्रिकाले त चौधरीलाई ‘वाइवाइ बिलेनियर’ को उपनाम नै दिएको छ ।

पछिल्ला वर्षहरुमा बैंकिङ, आतिथ्य सत्कार अर्थात् हस्पिटालिटी ब्यवसायमा आक्रामकरुपमा लागेका चौधरीलाई पनि छुट्टै उपनाम दिन सक्ने वाइवाइको सुरुवात चार दशकअघि भएको थियो । २०४० सालमा हिमालय पाँडेले मैदा बढी भएको उत्पादनलाई प्रयोग गर्ने आइडिया निकाले । जुन आइडियाबाट चौधरी प्रभावित भए । र, चाउचाउ उद्योगमा हात हाले ।

सन् २०४१ मा नेपालमा पहिलो ब्राउन नुडल्स फ्याक्ट्री ललितपुरको भैंसेपाटीमा स्थापना गर्दा नेपालमा बन्द अर्थतन्त्र थियो ।नेपालको बन्द अर्थतन्त्रमा उद्योग खोल्नु नै आफैंमा एउटा ठूलो संघर्ष थियो । तर, हुटहुटी बोकेका केही उद्यमीले बन्द अर्थतन्त्रमा पनि उद्योगमा हात हालेका थिए । त्यसैले बजारमा वाइवाइ आउँदा पहिल्यै अर्को नुडल्स ब्रान्ड पनि थियो । नेपाली बजारमा पहिल्यै रारा नुडल्स आइसकेका कारण उपभोक्ताको जिब्रोमा यसको स्वाद परिसकेको थियो ।

तर, फरक के रह्यो भने गण्डकी नुडल्सले रारा सेतो चाउचाउ उत्पादन गर्थ्यो भने चौधरी समूहले नेपालको पहिलो ब्राउन तयारी चाउचाउको रुपमा वाइवाइ बजारमा ल्यायो ।

यसले वाइवाइलाई प्रतिस्पर्धाका बाबजुद केही सहज पनि भयो । वास्तवमा बजारमा प्रतिस्पर्धा हुँदा नै उत्पादकहरुले आफ्नो उत्पादनको बजार विस्तार गर्न स्वाद, गुणस्तर तथा मूल्यमा बढी ध्यान दिन्छन् भने त्यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई हुन्छ।

भयो पनि त्यस्तै, आज चार दशकपछि पनि वाइवाइले नेपाली बजारमा मात्र नभएर विश्व बजारमै आफ्नो स्थान ओगट्न सफल हुनुको पछाडि त्यही प्रतिस्पर्धाले काम गरेको छ ।

वाइवाइ बजारमा आएपछि अरु धेरै चाउचाउ ब्रान्ड आए । तर, वाइवाइलाई चुनौती दिने बलियो प्रतिस्पर्धी आउन सकेनन् । त्यसबाहेक वाइवाइले भारतबाट आयात हुने अन्य ब्रान्डलाई प्रतिस्थापन गर्न पनि सफल भयो ।

अहिले वाइवाइ चाउचाउले विश्वभर साम्राज्य फैलाउँदै लगेको छ । वाइवाइ नेपालको सबैभन्दा लोकप्रिय ब्रान्ड भएको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको छ ।

चौधरी समूहका अनुसार दुई दर्जन फ्लेबरमा प्रत्येक दिन १५ लाख प्याकेटभन्दा बढी उत्पादन हुने वाइवाइले नेपाली बजारमा हाल ६५ प्रतिशत बजार हिस्सा ओगटेको छ । एक अध्ययनअनुसार एक नेपालीले औषतमा वार्षिक ४० वटा चाउचाउ खान्छन् । जसमध्ये २५ वटा वाइवाइ खान्छन् ।

हाल नवलपरासीमा ४ फयाक्ट्री लाइन, बर्दियामा एउटा, सुनसरीमा २ वटा फयाक्ट्री लाइन र ललितपुरको भैंसेपाटीमा एउटा फयाक्ट्री लाइनसहित नेपालका ४ स्थानमा ९ वटा फयाक्ट्रीमार्फत सीजी फुड्सले वाइवाइ उत्पादन गर्छ । यसबाहेक बर्दियामा थप एउटा फयाक्ट्री लाइनको विस्तार हुँदै गरेको पनि चौधरी समूहले जनाएको छ ।

चौधरी समूहले वाइवाइसँगै रियो र क्विक ब्रान्डमा विभिन्न प्रकारका खाद्य वस्तु पनि बिक्री वितरण गर्दै आएको छ ।

उपभोक्ता संस्कृति मान्नुस् वा उत्पादनको बजारीकरण आज संसार नै एउटा बजार हो । मुलुकहरुका बीचका सीमारेखाले उद्यमशीलतालाई रोक्दैन, रोक्न सक्दैन । अन्यथा नेपालीका हातमा आइफोन र घरघरमा टोयोटा गाडी हुने थिएन ।

त्यसैले पुँजीवाद र खुला बजारको जति नै बिरोध गरे पनि चीन जस्तो कम्युनिस्ट मुलुकले पनि आफ्ना उत्पादन विश्व बजारमा पठाउँछ, प्रतिस्पर्धा गर्छ । त्यसैले विश्व बजारमा अचेल हतियारभन्दा पनि ब्रान्डको युद्ध चलिरहेको छ । त्यही ब्रान्डको विश्व युद्धमा अब्बल ठहरिएको छ, नेपालको वाइवाइ ।

नयाँ ब्रान्ड टेस्ला, बिवाइडीदेखि पुराना ब्रान्ड टोयोटा कारसम्मको लागि आज विश्वको ८ अर्ब जनसंख्या नै एउटा बजार हो । अनि अमेरिका र जापान अनि चीनदेखि भारतसम्मको विश्व बजार नेपालको लागि पनि त हो नि ।

त्यसैले वाइवाइले आफ्नो पदचाप नेपालबाट बाहिर दक्षिण एशियामा भारत अनि बंगलादेशमा फैलाएको छ भने युरोपका सर्बिया, काजकस्तान अनि इजिप्ट र इटालीसम्म पनि पुर्‍याएको छ ।

‘वाइवाइभन्दा अघि हाम्रा सफलताका कथा नभएका होइनन् तर यसले हामीलाई नयाँ उचाइमा पुर्‍याइदियो, आर्थिक र संगठनको आकार दुबैका हिसाबले,’ चौधरी भन्छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज बेल्टबाट सुरु भएको आइडियाले नेपालकै सबैभन्दा ठूलो एफएमसीजी कम्पनी निर्माण गर्‍यो । वाइवाइको कथा यहीँ टुंगिदैन ।’

नेपाली ब्रान्डलाई भारत पुर्‍याउने क्रममा सन् २००६ मा सिक्किममा पहिलो फ्याक्ट्री खोलेको सीजी फुड्सले सन् २००८ मा रुद्रपुर (उत्तराखण्ड), सन् २००९ मा र २०१३ मा आसाम, सन् २०१४ मा आन्ध्र प्रदेश अनि २०१५ मा बिहारको पूर्णीयामा र सन् २०१९ मा राजस्थानमा आफ्नो फ्याक्ट्री स्थापना गरिसकेको छ ।

पछिल्ला ६ वर्षमा भारतमा वाइवाइको बजार विस्तार प्रतिवर्ष औसत २० प्रतिशत रहेको छ । त्यसैले यी ६ राज्यबाहेक भारतका अन्य राज्यमा पनि फ्याक्ट्री नै स्थापना गरेर आफनो ब्रान्डलाई स्थापित गर्न योजना वाइवाइको छ ।

वाइवाइले भारतमा म्यागी र यिप्पी जस्ता चाउचाउका ब्रान्डसँग प्रतिस्पर्धा गर्छ भने भारतीय बजारमा वाइवाइको हिस्सा २७ प्रतिशत रहेको छ । सन् २०२८ सम्ममा भारतीय बजारमा वाइवाइको हिस्सा ३५ प्रतिशत पुर्‍याउने योजना रहेको चौधरी समूहले जनाएको छ ।

पछिल्ला वर्षहरुमा वाइवाइ बाहेकका अन्य नेपाली ब्रान्डले पनि दक्षिणी छिमेकी भारतको विशाल बजारमा आँखा लगाउन थालेको समयमा वाइवाइले भारतमा नै आफ्नो फ्याक्ट्रीमार्फत बजार विस्तार गर्नु स्वभाविक पनि हो ।

अझ एक कदम अगाडि बढेर वाइवाइले आफनो चार दशकको एकल यात्रालाई नेपाली र भारतीय उपभोक्तासँग साझेदारी गर्ने योजनामा सेयर निकाल्ने गृहकार्य पनि अन्तिम चरणमा पुर्‍याइसकेको छ । खैर, यसका बारेमा केही बेरमा चर्चा गरौंला, पहिला वाइवाइको विश्व बजारको यात्रा नै पछ्याऔं ।

चौधरी समूहका अनुसार सन् २०१६ मा वाइवाइले आफ्नो पहिलो फ्याक्ट्री युरोपको सर्बियामा स्थापना गरेर नेपाली ब्रान्डलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको हो । त्यसको २ वर्षपछि कजाखस्तानमा र बंगलादेशमा अनि सन् २०२० मा इजिप्टमा पनि वाइवाइले आफ्नो फ्याक्ट्री स्थापना गरिसकेको छ ।

विश्वभर इन्ट्यान्ट नुडल्सको माग बढिरहेको छ । वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिएसनका अनुसार खाद्यान्नको निरन्तर विश्वव्यापी वृद्धिले पनि इन्ट्यान्ट नुडल्सको खपत बढिरहेको हो ।

विशेषगरी कोभिड महामारी र जीवनयापनको लागत बढेका कारण सहज तथा किफायती इन्स्ट्यान्ट नुडल्सको खपत बढेको हो। सन् २०२२ मा विश्वभरमा १२१.२ अर्ब पटक इन्स्ट्यान्ट नुडल्स सर्भ गरिएको संघले जनाएको छ । संघकाअनुसार अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतको वृद्धि हो ।

वाइवाइ जस्ता इन्ट्यान्ट नुडल्स विश्वमा सबैभन्दा बढी चीनमा खपत हुन्छ भने दोस्रोमा इन्डोनेसिया र तेस्रोमा भारतमा खपत हुन्छ । संघको २०२४ को ताजा तथ्यांक अनुसार नेपाल विश्वमा सबैभन्दा धेरै इन्स्ट्यान्ट नुडल्स खपत गर्ने मुलुकको सूचीमा १४औं स्थानमा पर्दछ ।

यसरी वाइवाइले विश्वको तेस्रो धेरै खपत हुने भारत, १४औं नेपाल, १६औं स्थानमा रहेको इजिप्ट, २८औं बंगलादेश, २९औं काजखस्तानजस्ता देशमा प्रत्यक्षरुपमा फ्याक्ट्री स्थापना गरेर उत्पादन गर्दछ । जसकारण पनि वाइवाइले विश्वभर ३ अर्ब प्याकेट बिक्री गरेको तथा हरेक वर्ष २० प्रतिशतको दरले वृद्धि भएको चौधरी समूहको दाबी छ ।

दक्षिण एशियामा भारत र बंगलादेश अनि युरोपमा पनि आफ्नो पदचिह्न छोडिसकेको वाइवाइको यो विश्व भ्रमण यत्तिमै सीमित छैन । वाइवाइको यो दौड अझै पनि खारिने किन देखिन्छ भने वाइवाइले नेपाल र भारतमा सँगै साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । पुँजी निर्माणपश्चात पुँजीको वितरणमा जान वाइवाइले नेपाल र भारतसँगै आईपीओ जारी गर्ने भएको हाे ।

क्लिकमान्डुसँग कुरा गर्दै चौधरी समूहका प्रबन्ध निर्देशक निर्माण चौधरीले सन् २०२६ भित्र नेपाल र भारत दुबै देशमा वाइवाइको आईपीओ निष्काशनको तयारी भइरहेको बताए । उनले नेपाल र भारतमा एकैसाथ आईपीओ ल्याउने योजनासहित काम अघि बढाइरहेको पनि बताए ।

वाइवाइको आईपीओ निष्कासनका सन्दर्भमा सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै वाइवाइ आईपीओ जारी गर्ने आकारमा पुग्ने बताएका छन् ।

त्यसैले वाइवाइको यो उडानबाट के आशा गर्न सकिन्छ भने, कुनै समय विनोद चौधरीले परिकल्पना गरे जस्तै न्यूयोर्कको स्टक एक्सचेन्जमा सूचीकृत हुने पहिलो कम्पनी वाइवाइकै हुनसक्छ । तर, हाललाई भने नेपाल तथा भारतको स्टक एक्सचेन्जमा वाइवाइ सूचीकृत हुने पक्कापक्की भएको छ ।

किनकि, नेपाल धितोपत्र बोर्डले बुक बिल्डङ र प्रिमियममा आईपीओ निकाल्न पाइने व्यवस्था गरेर उत्पादनमुलक कम्पनीलाई बजारमा ल्याउन प्रोत्साहन गरेको छ । जसकारण वाइवाइले पनि आफ्नो ब्रान्ड भ्याल्यू तय गरेर प्रिमियममा आईपीओ निकाल्न सक्छ । त्यसका लागि सिजी फुड्स प्रालि अब पब्लिक लिमिटेड कम्पनी बन्नेछ ।

र, तपाईं पनि वाइवाइको मालिक बन्नुहुने छ

अहिले कम्पनीमा निर्वाण चौधरीको ७६ प्रतिशत हिस्सा रहेको छ भने एम/एस एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत स्वामित्व छ ।

स्टक एक्सचेन्जमा सूचीकृत भएर पब्लिक कम्पनी भएपछि वाइवाइको विश्व भ्रमण अझ बलियो रहनेमा कुनै शंका छैन । किनकि, नेपालबाट निर्यात गरेर विदेशी मुद्रा कमाउने अनि विश्वका विभिन्न देशमा फ्याक्ट्री पनि खोल्ने दोहोरो रणनीतिले वाइवाइलाई पक्कै पनि अझ बढी ब्रान्ड भ्यालु निर्माण गर्न मद्दत गर्नेछ ।

वाइवाइ उत्पादन गर्ने सीजी फुड्स नेपाल प्रालिले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो ।

चार दशकदेखि वाइवाइ नेपालको नम्बर वान ब्रान्ड भइरहनुका ७ कारण

१, उपयुक्त समयमा उपयुक्त ठाउँमा उत्पादन: सन् १९५० दशकपछि नेपालमा पर्यटन क्षेत्र उल्लेख्यरुपमा विकास हुँदै गयो । त्यसपछि सन् १९६० र सन् १९७० को दशकमा नेपालीहरु विभिन्न कारणले विदेश यात्रामा निस्किन सुरु गरे। त्यसपछि नेपालमा विदेशी पर्यटक र मालसामान आयात हुन थाले । त्यसमध्ये एक चाउचाउ पनि थियो । यसैक्रममा गण्डकी नुडल्सले रारा सेतो चाउचाउ उत्पादन सुरु गर्‍यो । नेपालको पहिलो चाउचाउका रुपमा रारा आएपछि सिजीले नेपालको पहिलो (ब्राउन) चाउचाउको रुपमा ल्यायो वाइवाइ । यो तत्कालै लोकप्रिय भयो र २० वर्षदेखि बजार दबाबमा राखेको भारतको म्यागी चाउचाउलाई प्रतिस्थापन गर्‍यो ।

२, कमजोर प्रतिस्पर्धी: वाइवाइ आएपछि नेपालमा प्रत्येक पसलमा चाउचाउ उपलब्ध भयो । यसलाई खाजाको रुपमा प्रयोग हुने क्रम बढ्यो । तर, यसलाई टक्कर दिने प्रतिस्पर्धीहरु भने बलियोरुपमा आउन सकेनन् । जस्तो कि रुची, मायोज र रमपम चाउचाउले सुरुमा राम्रो सफलता पाए तर अन्ततः असफल भए । प्रतिस्पर्धामा वाइवाइले अन्य सबैलाई हराउन सफल भयो ।

३, पहिलो हुँदाको फाइदा: वाइवाइ चाउचाउ उत्पादन सुरु हुनुभन्दा पहिला नेपालमा भातरबाट म्यागी चाउचाउ आयात हुन्थ्यो। ब्राउन चाउचाउमा वाइवाइ नेपालको पहिलो चाउचाउ हो । नेपालमा पहिलो चाउचाउको रुपमा आएको वाइवाइले त्यसको फाइदा लिन सफल भयो । यदि कुनै पनि वस्तु पहिलो पटक उत्पादन भएमा उसले सजिलै ब्राण्ड बनाउन सक्छ । यस्तो उत्पादनले बजारमा जानुभन्दा पहिला नै ग्राहकको मन तान्न सफल हुन्छ । वाइवाइ पनि त्यस्तै मन जित्ने ब्राण्डमा पर्छ ।

४, मूल्य र गुणस्तरीय उत्पादन: नेपालमा कुनै पनि वस्तु बजारमा आएपछि यसको मूल्य प्रमुख विषय बन्छ । वाइवाइको लोकप्रियतामा पनि मूल्यले प्रमुख भूमिका खेलेको छ । ग्राहकले यो चाउचाउ वर्षौंसम्म सुलभ मूल्यमा पाएका छन् । अहिलेसम्म कसैले पनि वाइवाइको गुणस्तर बारेमा असन्तुष्टी जनाएका छैनन् । नेपालीले हरेक दिनरात यसको खपत गरिरहेका छन्। वाइवाइ चाउचाउप्रति नेपालीले सहानुभूतिमात्रै राखेका छैनन्, गर्व पनि गरेका छन् ।

५, अन्तर्राष्ट्रीयकरण र आक्रमक मार्केटिङ: चौधरीलाई दुवई एयरपोर्टमा आफ्नो लगेज पर्खिरहेको बेलामा वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुले कार्टुनका कार्टुन वाइवाइ बोकेको देखेपछि अन्तर्राष्ट्रिय बजारमा लैजाने आइडिया आएको थियो। वाइवाइ मन पराउने ती नेपालीले विदेशमा किन्न खोजेमा पाउँदैनथिए । अहिले वाइवाइ विश्वका ४० भन्दा बढी देशमा पुगेको छ ।

नेपालमा मोडलको प्रयोग गरेर विज्ञापन गर्ने कम्पनीहरुमध्ये वाइवाइ पनि हो, जसले गर्दा यो धेरै प्रभावकारी भयो । चाउचाउ बजारमा प्रतिस्पर्धी कम्पनीहरु थपिएपछि यसले विज्ञापन र मार्केटिङलाई एक ठूलो हतियारको रुपमा प्रयोग गर्‍यो । जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न र बजार हिस्सा बढाउन सहयोग गर्‍यो ।

‘नूडल्स वार’सँगै ब्राण्डिङ र मार्केटिङमा वाइवाइले बाटो मोड्यो

२०४१ सालमा उत्पादन सुरु हुने बित्तिकै त्यसबेलाकी चर्चित मोडल डली गुरुङलाई खेलाएर वाइवाइले पहिलो विज्ञापन बनायो । र, त्यही विज्ञापनमार्फत बजार प्रवर्द्धन गर्‍यो ।

चौधरीसँगै चाउचाउ उद्योगमा अन्य उद्योगी व्यवसायीहरु आकर्षित भए । उद्योगहरु बढ्न थाले । अनि नेपालमा सुरु भयो चाउचाउ युद्ध अर्थात् नुडल्स वार । युद्ध यस्तोसम्म भयो कि २०६०/०६१ सालतिर आइपुग्दा चाउचाउ उत्पादक कम्पनीले उपभोक्तालाई दिन बाँकी केही पनि थिएन।

चाउचाउ कम्पनीले उपभोक्तालाई सुनदेखि घर, गाडीमात्रै होइन, दिन मिल्नेजति सबै दिए ।

बढाबढमा उपभोक्तालाई उपहार घोषणा गर्नु चाउचाउ कम्पनीहरुको मार्केटिङ रणनीति थियो । एउटा कम्पनीले सुनको औंठी दिने घोषणा गर्‍यो भने अर्को कम्पनीले तुरुन्तै हिराको हार दिने घोषणा गरिहाल्थ्यो । अर्को कम्पनीले गाडी उपहार दिने घोषणा गर्थ्यो । र, अर्को कम्पनीले घर । सञ्चारमाध्यमहरुमा दैनिक यस्ता विज्ञापन प्रकाशित र प्रसारित हुन्थे ।

चाउचाउ कम्पनीका विज्ञापन हेर्दा लाग्थ्यो, अरु केही नगरी चाउचाउ मात्रै खायो भने सुन-चाँदी, हिरा-मोती, घर-गाडी सबै मिल्छ । र, भविष्य सुरक्षित हुन्छ ।

चाउचाउ कम्पनीको उपहार युद्धले ८० प्रतिशत बजार हिस्सा ओगटेको वाइवाइलाइ समेत थला पार्‍यो ।

‘अरुले आँखा चिम्लेर छुट दिन थालेपछि डिलरले वाइवाइलाई हामीले प्रस्ताव गरेको न्यूनतम मूल्यमा लिन मानेनन्, त्यसैले ८० प्रतिशतसम्म बजार हिस्सा ओगटेको वाइवाइ एकैपटक ४० प्रतिशतमा झर्‍यो,’ चाउचाउ युद्धबारे चौधरीले आफ्नो आत्मकथामा लेखेका छन् ।

युद्धको नियम नै हो कि मरिन्छ कि त मारिन्छ । जब वाइवाइको बजार हिस्सा ५० प्रतिशतले घट्यो तब चौधरी ग्रुप युद्धमा काउन्टर अट्याकमा उत्रियो ।

वाइवाइको प्रतिस्पर्धी ब्राण्ड अर्को व्यापारिक घराना खेतान समूहको मायोजले त्यतिबेला हिराको हार उपहार राखेको थियो । हिराको हार पाउने लोभमा उपभोक्ताहरु वाइवाइ छाडेर मायोज चाउचाउ खान थाले । जुन कुरा चौधरीलाई सह्य भएन । र, मायोजलाई माथ खुवाउने गरी वाइवाइले हिराको सेट राख्ने निर्णय गर्‍यो ।

तर, यो कुराप्रति आफू स्वयं सन्तुष्ट नभएको चौधरीले स्वीकार गरिसेका छन् ।

‘हामीलाई हिराको सेटको लोभ देखाएर चाउचाउ बेच्नु गलत हो भन्ने फिल भइसकेको थियो,’ नुडल्स वारका विनर अर्थात् चौधरी ग्रुपमा लामो समय भाइस प्रेसिडेन्टका रुपमा काम गरेका जीपी साह भन्छन्, ‘हामीले बजार अनुसन्धान पनि गरिसकेका थियौं, अनुसन्धानमा चाउचाउ कम्पनीको उपहार योजनालाई जनताले विश्वास गर्न छाडिसकेको पायौं, त्यसले हामीलाई थप दबाबमा पार्‍यो ।’

र, बाटो मोडियो

प्रतिस्पर्धामा वाइवाइलाई टिकाइ राख्न र अरुभन्दा फरक देखाउन चौधरी ग्रुपले ‘फाइटर ब्रान्ड’ ल्यायो । कम्पनीले मामा, गोलमोलजस्ता ‘फाइटर ब्राण्ड’ बजारमा उतारेको थियो । मुख्य ब्रान्ड वाइवाइलाई नुडल्स वारभन्दा फरक राख्न उपभोक्तामा आधारित उपहार योजनाहरु फाइटर ब्रान्डतिर सिफ्ट गर्‍यो ।

त्यति मात्रैले नपुग्ने देखेर चौधरी ग्रुपले आफ्नो सञ्चार रणनीति नै परिवर्तन गर्‍यो।

‘उपहारप्रति उपभोक्ताको विश्वास गुमिसकेको थियो तर अरु ब्रान्डहरु उपहार दिनमै केन्द्रित भए । हामीले भने सञ्चार रणनीति नै परिवर्तन गर्यौं । र, उपहार होइन सन्देशमुलक सामाग्री दिन थाल्यौं,’ साह प्रष्ट्याउँछन् ।

आजभन्दा १५ वर्षअघि वाइवाइले पहिलो सन्देशमुलक विज्ञापन ‘वाइवाइ ज्ञानोदय छात्रवृत्ति’ सञ्चालन गर्‍यो ।

‘हामी लिडिङ ब्रान्ड भएकोले केही नयाँ गर्न चाहन्थ्यौं’ चौधरी ग्रुपका जनसम्पर्क महाप्रवन्धक मधुसुधन पौडेल भन्छन्,  ‘त्यसैका लागि वाइवाइबाट सामाजिक सन्देश दिने विज्ञापन दिन सुरु गर्यौं , यसले बजारमा हाम्रो छवि पनि फरक मात्र भएन, राम्रो पनि भयो ।’

२०६६/६७ देखि सुरु भएको ज्ञानोदय छात्रवृत्ति योजनामा हजारौं विद्यार्थीले छात्रवृत्ति पाएको  पौडेल बताउँछन् । कुनै पनि वस्तुको ब्रान्ड समाजमा स्थापित भएपछि समाजले ब्रान्डबाट अपेक्षा खोज्ने मनोविज्ञान बुझेर नै वाइवाइले सामाजिक चेतना फैलाउने अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

हाम्रो मनमा वाइवाइ

वाइवाइले दशकअघि लामो टेलिभिजन विज्ञापन बनायो । ‘हिमाल पहाड तराई, सबको मनमा वाइवाइ’ भन्ने नारामा बनेको विज्ञापनमा हिमालदेखि तराईसम्मका जनता र सबैको प्रतिनिधित्व गराइएको थियो ।

‘नेपाली समाज जातजातिमा विभाजन देखिएको बेला हामीले सबै नेपालीलाई बाध्ने सुत्रको एउटा प्रयास गरेका थियौंं,’ पौडेल भन्छन्, ‘यो विज्ञापन साँच्चै नै प्रभावकारी भयो । यसले हामीलाई ठूलो सन्तुष्टि मिल्यो ।’

खाना खानुअघि हात धुने सन्देश होस् या लोडसेङिङ भएको समयमा उज्यालो बाँड्ने अभियान वाइवाइ सामाजिक सन्देश फैलाउने बाटोमा झनै तीव्र गतिमा हुइँकिन थाल्यो ।

आदर्श नागरिक बनौं

वाइवाइले ‘आदर्श नागरिक बनौं’ अभियान सुरु गर्‍यो । जसअन्तर्गत ट्राफिक प्रहरीसँगको सहकार्यमा दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानलेलाई आर्थिक सहयोग वाइवाइले गर्दै आएको छ ।

‘मान्छेको जीबनभन्दा ठूलो अरु केही हुन सक्दैन, दुर्घटनामा परेको व्यक्तिलाई बचाउन सबैले सहयोग गर्नुपर्छ भन्ने सन्देशसहितको यो अभियानले समाजमा निकै ठूलो छाप पारेको हाम्रो विश्वास छ,’ उनले भने ।

वाइवाइले आफ्नो गति यसरी अघि बढायो कि युद्धमा होमिएका अन्य ब्रान्डहरु वाइवाइको पछि-पछिसम्म दौडिन सकेनन् ।नुडल्स वार पनि सकियो । त्यतिबेलाका नाम चलेका केही ब्रान्डहरु अहिले बजारबाट विस्थापित भइसकेका छन् । तर, वाइवाइ सबैको मनमा बसेको छ ।

‘हामी पुरानै शैलीको नुडल्स वारबाट माथि उठ्न नसकेको भए वाइवाइ यो अवस्थामा आउने थिएन कि?,’ पौडेल भन्छन्, ‘नुडल्स वारबाट स्टेयरिङ मोडेर वाइवाइ सीधा बाटोमा झनै तीव्र गतिमा हुइँकिरहेको छ ।’


कुबेर चालिसे