आफूलाई नटेर्ने सहकारीसामु निरीह बन्दै विभाग, १५ दिने अनुरोध नमानेपछि एक महिने निर्देशन



काठमाडौं । आफ्नो नियमन क्षेत्रमा पर्ने २६ वटा सहकारी संस्था एकीकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस)मा आबद्ध नभएपछि सहकारी विभागले ती संस्थालाई प्रणालीमा आबद्ध हुन भन्यो ।

जेठ ३ गते संस्थाको नामसहित उल्लेख गरेर विभागले १५ दिनभित्र प्रणालीमा आबद्ध हुनु, अन्यथा सहकारी ऐन २०७४ को दफा ८८ बमोजिम संस्थाको खारेजीसम्मको प्रकृया अघि बढाउने भन्यो । १५ दिनमा २६ वटा सहकारीले विभागको निर्देशनलाई अवज्ञा गरे ।

आफ्नो क्षेत्राधिकार भित्र रहेका, आफैले नियमन गर्ने संस्थाका लागि जारी गरेको निर्देशन नमान्दा पनि विभाग भने निरिह बनेर बसेको छ । निर्देशन जारी गर्दा १५ दिनमा प्रणालीमा आबद्ध नभएको खण्डमा संस्था खारेजी गर्ने धम्की दिएको विभागले अहिले पुनः १ महिनाका लागि भन्दै सूचना जारी गरेको छ ।

विभागले जेठ ३१ गते सूचना निकालेर सहकारीलाई १ महिना भित्र प्रणालीमा आबद्ध हुनु, अन्यथा कानून बमोजिम दर्ता खारेजी गर्ने धम्की दिएको छ ।

‘यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत सबै सहकारी संघ सहंस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट गरेको नदेखिएकोले १ महिनाभित्र अनिवार्य रुपमा कोपोमिस प्रणालीमा आबद्द भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्नुहुन जानकारी गराईन्छ’ विभागले जेठ ३१ गते जारी गरेको सूचनामा भनेको छ, ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारवाही गरिने छ ।’

सबै सहकारीले विभागले तोकेको कोपोमिस प्रणालीमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था सहकारी ऐन, २०७४ (संशोधन सहित, २०८०) को दफा ७३ को उपदफा १ (क) मा रहेको छ । सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ । यसले गर्दा सबैलाई यो प्रणालीमा आबद्ध हुन विभागले भनेको हो । विभागले पटक पटक सूचना निकालेर बसेको भएपनि कुनै पनि सहकारीले विभागको त्यो सूचनालाई वास्था गरेका छैनन् ।
यी हुन् विभागले पटक पटक सूचना जारी गर्दा पनि अटेर गर्ने २६ सहकारी अरुणोदय बहुमुखी सहकारी, जनकल्याण बहुमुखी सहकारी, नारी कृषि सहकारी, नेपाल केन्द्रीय उपभोक्ता, नेपाल केन्द्रीय स्वास्थ्य सहकारी, महिला उधमी उपभोक्ता सहकारी, मेट्रो बचत तथा ऋण सहकारी, सुनकोशी बहुउद्देश्यीय सहकरी फाइनान्स रहेको छ ।

यस्तै पुष्पलाल मेमोरियल इनर्जीको अपरेटिभ, पुरन्धारा सामूदायीक बिद्युत सहकारी संस्था, नेपाल बिद्दुत केन्द्रीय सहकारी संघ, रिघा मनेवा दरमखोला जलविद्युत सहकारी, अमोल कृषि सहकारी संस्था शिलादेवी कृषि सहकारी संस्था, वाणी प्रकाशन सहकारी संस्था, पूर्वाञ्चल बहुउद्देश्यीय सहकारी संस्था, उज्यालो स्यार्पु जल विधुत सहकारी संस्था, कामीवुढा स्मृति जन कृषि सहकारी, कामीवुढा स्मृती ग्रामिण जन विधुत सहकारी, भिजन कृषि सहकारी संस्था, मुसीकोट भाग्ले विधुत सहकारी, राप्तिसमाज स्वास्थ्य सहकारी संस्था, शाई कुमारी पशुपालन सहकारी, हाम्रो वचत तथा ऋण सहकारी संस्था र मेघावी कृषि सहकारी संस्था रहेका छन् ।


क्लिकमान्डु