गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताए ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्राउनुपर्ने बताएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन् ।

उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्राउनुपर्ने बताइन् । नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवद्र्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन् ।

गौतमले यसो भनिन्

बजेट विनियोजन मज्जाले नियालेर हेर्ने हो भने मन्त्री र सांसदहरुबिचको शक्ति संघर्षमा मन्त्रीले सांसदलाई हराएको जस्तो र गर्व गरेको जस्तो देखिन्छ । त्यो बजेटले बोल्ने कुरा हो ।

मन्त्रीहरु बजेटमा उत्कृष्ट हुनुहुन्छ कि, सांसदहरु भन्दा एकदम उत्कृष्ट हो कि, उहाँहरुको ठाउँमा चाहीँ बढी नै पर्नुपर्ने हो कि भन्नेजस्तो भान हुन्छ । टुक्रे बजेटलाई प्रश्रय नदिऔँ । यतिधेरै टुक्रे बजेटहरु विनियोजन भएको छ कि एकलाखे बजेटले एउटा लाखे नाच आयोजना गर्न पनि पुग्दैन रहेछ । त्यस्तो किसिमको बजेट विनियोजन भएको देखियो । मन्त्रीले मागेजति दिदाँ एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कत्तिपनि योगदान दिन सक्दैन । हामीले भुटानमा जस्तो संख्यामा होइन, खर्च गर्न सक्ने पर्यटन भित्राउने किसिमको नीति लिनुपर्छ जस्तो लाग्छ ।

किनकी नेपालको पर्यटनको मुल आधार भनेको हाम्रो हिमालहरु हुन् । प्राकृतिक सम्पदाहरु हुन् । यहाँका संस्कृतिहरु हुन् । यदि यही बचाउनुपर्ने हाम्रो सम्पत्ति एक रुपैयाँ खर्च नगर्ने, उल्टै नेपालमा आएर, नेपालीको घरमा टुटेफुटे बोलेर, बसेर खाएर फिर्ता जाने ब्याकप्याकर्स पर्यटकहरु भित्राएर नेपालको पर्यटन प्रर्वद्धन हुन्छ ?

यसले नेपालको पर्यटन नीतिमा केही योगदान पुर्‍याउँछ ? यसले हामीलाई कहाँ पुर्‍याउँछ ? त्यही भएर संख्यामा कति पर्यटक आए भन्ने किसिमको गणनागर्ने छोड्दिनुस् । यदि साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्राउनुपर्छ । त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुपर्‍यो ।


क्लिकमान्डु