सात प्रदेशमध्ये गण्डकी सबैभन्दा धनी प्रदेश, घरमुलीमा महिलाको संख्या बढ्दै



काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा धनी प्रदेशमा गण्डकी दरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

सार्वजनिक तथ्याँकअनुसार सात प्रदेशमध्ये सबैभन्दा कम गरिबी दर गण्डकी प्रदेशमा पाइएको छ । उक्त प्रदेशमा गरिबीको दर ११.८८ प्रतिशत रहेको पाइएको छ । अर्थात उक्त प्रदेश सात प्रदेशमध्ये सबैभन्दा धनी प्रदेशको रुपमा देखिएको छ ।

सबैभन्दा कम धनी प्रदेशमा सुदूरपश्चिम प्रदेश परेको छ । यो प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत पाइएको छ । यस्तै कर्णालीमा गरिवीको दर २६.६९, लुम्बिनीमा २४.३५, वागमतीमा १२.५९, मधेशमा २२.५३ र कोशी प्रदेशमा १७.१९ प्रतिशत गरिबी दर भेटिएको छ ।

नेपालको कूल जनसंख्या २ करोड ९१ लाखमध्ये २०.२७ प्रतिशत जनसंख्या अर्थात ५९ लाख सर्वसाधारण गरिबीको रेखामुनि रहेको सर्वेक्षणले देखाएको छ । कार्यालयले सातवटै प्रदेशको ग्रामीण र शहरी क्षेत्रको ९ हजार ६ सय सर्वसाधारणलाई सर्वेक्षणमा सहभागी गराएर यो तथ्याँक सार्वजनिक गरेको हो ।

सर्वेक्षणअनुसार पछिल्लो समयमा १५ देखि ५९ उमेर समूहको जनसंख्या बढ्दै गएको छ । १५ देखि ५९ उमेर समूह क्रमिक रुपमा बढ्दै गएर ६०.८ प्रतिशतमा पुगेको छ । अर्कोतर्फ भने ० देखि १४ वर्ष उमेर समूहको जनसंख्या घट्दै गएको पाइएको छ । यो उमेर समूहको बालबालिकाको संख्या क्रमिक रुपमा घट्दै गएर पछिल्लो समयमा २८.३ प्रतिशतमा पुगेको छ ।

यस्तै ६० वर्ष उमेर समूहको जनसंख्या पनि क्रमिक रुपमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ । सन् १९९५/९६ मा यो उमेर समूहको प्रतिशत दर ६.८ प्रतिशत रहेकोमा विस्तारै बढ्दै गएर अहिले १०.९ प्रतिशतम पुगेको छ ।

घरमा महिला घरमुली हुने बढ्दै

सर्वेक्षणअनुसार पछिल्लो २७ वर्षको अवधीमा घरको घरमुली(मुखिया) मा महिलाको प्रतिनिधित्व पनि बढ्दै गएको देखाएको छ । सन् १९९५/९६ मा महिला घरमुली हुने प्रतिशत १३.६ प्रतिशत रहेकोमा सन् २०२२/२३ मा आइपुग्दा महिला घरमुली हुने दर ३७.१ प्रतिशतमा पुगेको छ ।

अर्कोतर्फ घरपरिबारको आकार पनि घट्दै गएको छ । सन् १९९५/९६ मा घरपरिबारको आकार ५.७ प्रतिशत रहेकोमा अहिले घट्दै ४.० प्रतिशतमा पुगेको छ ।

सवेक्षण गरिएको घरपरिबारमध्ये ८१.४ प्रतिशत घरपरिबारको आफ्नै घरको स्वामित्व रहेको पाइएको छ भने १५.१ प्रतिशत घरपरिबार भाडाको घरमा बस्दै आएको भेटिएको छ । यस्तै २.७ प्रतिशत घरपरिबार निःशुल्क रुपमा कतै न कतै बस्दै आएका छन् ।

९४.२ प्रतिशत घरपरिबारको पहुँचमा शौचालय

यो सर्वेक्षणअनुसार सर्वेक्षण गरिएको घरपरिबारमध्ये ९४.२ प्रतिशत घरपरिबार शौचालयको पहुँचमा पुगेका छन् । सन् १९९५/९६ मा सौचालयको पहुँचमा २१.६ प्रतिशत घरपरिबार मात्रै थिए । यस्तै टेलिफोनको पहुँचमा सर्वसाधारणको पहुँच घटेको पाइएको छ । सन् १९९५/९६ मा टेलिफोनको पहुँचमा १ प्रतिशतको हाराहारीमा घरपरिबार पुगेका थिए भने सन् सन् २०१०/११ मा पहुँच दर बृद्धि भएर १२.५ प्रतिशत पुगेको थियो ।

तर पछिल्लो वर्ष सन् २०२२/२३ मा भने फेरी यो दर घटेर २.० प्रतिशतमा पुगेको छ । सर्वेक्षणअनुसार ९४.० प्रतिशत घरपरिबारको पहुँचमा बिजुली पुगेको छ । सन् १९९५/९६ मा भने १४.१ प्रतिशत घरपरिबारको पहुँचमा बिजुलीको उपलब्धता पुगेको थियो ।

त्यसैगरी ५१.६ प्रतिशत घरपरिबारको पहुँच पाइप खानेपानीमा पुगेको छ । बाँकी घरपरिबार भने अन्य प्रकारका खानेपानीको स्रोत उपभोग गर्दैआएका छन् । सन् १९९५/९६ मा भने ३२.८ प्रतिशत घरपरिबारको मात्रै पाइप खानेपानीमा पहुँच भएको थियो।


क्लिकमान्डु