सरकारको खाता करिब २ खर्बले घाटामा, ११ महिनामा उ‍ठायो ३ खर्ब ७ अर्ब ऋण



काठमाडौं । संघीय सरकारले आम्दानीभन्दा खर्च बढी गर्दा सञ्चित कोष घाटामा गएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म संघीय सरकारको सञ्चित कोष १ खर्ब ९४ अर्ब रुपैयाँले घाटामा छ ।

चालू आर्थिक वर्षमा मात्रै संघीय सरकारको सञ्चित कोष घाटा १२ अर्ब ८७ करोड रुपैयाँ भएपनि गत वर्षको १ खर्ब ८१ अर्ब रुपैयाँ सञ्चित कोष घाटाले संघीय सरकारलाई वित्त व्यवस्थापन चुनौति पूर्ण बनेको हो ।

चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म संघीय सरकारले राजस्वबाट ८ खर्ब १५ अर्ब रुपैयाँ प्राप्त गर्दा आन्तरिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ संकलन गरेको छ ।

यो वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य छ ।
जेठ १८ गतेसम्म संकलन भएको आन्तरिक ऋणका आधारमा अब असार महिनाभरीमा सरकारले थप ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सक्छ ।

यस्तै, जेठ १८ गतेसम्म अनुदानबाट १५ अर्ब ४० करोड रुपैयाँ प्राप्त गरेको सरकारले वैदेशिक ऋणबाट ७२ अर्ब १५ करोड रुपैयाँ उठाएको छ ।

आन्तरिक र वैदेशिक ऋणबाट गरी सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ७ अर्ब रुपैयाँ उठाएको छ ।

असारमा ५ अर्ब रुपैयाँ मात्रै आन्तरिक ऋण उठाउने स्पेश हुनुका साथैं लक्ष्य अनुसार राजस्व संकलन हुने सम्भावना नभएकाले सरकारले आगामी दिनमा सार्वजनिक वित्त व्यवस्थापन गर्न चुनौति पुर्ण हुने देखिन्छ ।

असारमा निर्माण व्यवसायीदेखी कयौं भुक्तानी गर्नु पर्ने दबाव भएकाले सार्वजनिक वित्त व्यवस्थापन चुनौतिपूर्ण हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु