मेगा ड्रिम सहकारीका अध्यक्ष, कोषाध्यक्षको ब्रम्हलुटः सहकारी ऐन विपरित आफैँ ऋण लिने, जग्गा किन्ने



काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संंस्थाका अध्यक्ष महाशंकर रेग्मीले बचतकर्ताको पैसामा ब्रम्हलुट नै मच्चाएका छन् । अन्य सहकारी ठगले झैं उनले पनि बचतकर्ताले जम्मा गरेको पैसा मनोमानी ढंगले प्रयोग गर्ने, आफन्तको नाममा लगानी गर्ने तथा घर जग्गा किन्ने गरेको तथ्य भेटिएको छ ।

अध्यक्ष रेग्मीले अमृता श्रेष्ठले संचालन गरेको खाद्य सप्लायर्स कम्पनी यस.डि.जी. नामक कम्पनीलाई सहकारी ऐन विपरित २० करोड रुपैयाँ कर्जा दिएका छन् । यति मात्रै होइन, रेग्मीले उक्त कम्पनीमा सेयर लगानी पनि गरेका छन् ।

सहकारीका सचिव इन्द्र प्रसाद गेलालका अनुसार अध्यक्ष रेग्मीले यस.डि.जी. नामक खाद्य सप्लायर्स कम्पनीको सेयर खरीद गरी आफु उक्त कम्पनीमा सेयरधनी पनि बनेका हुन् ।

तर, रेग्मीले सहकारीबाट यस.डि.जी. सप्लायर्सलाई दिएको करिब २० करोड रुपैयाँ ऋण अझै उठ्न नसकेको गेलालले बताए ।
यसका साथै, अध्यक्ष रेग्मीले आफैले ७ करोड ऋण लिई तिरेका छैनन् भने आफनो नाममा चितवन र काठमाडौंको चोभारमा तथा आफ्नी श्रीमती चण्डिका हुमागांई रेग्मीको संयुक्त नाममा दहचोकमा जग्गाहरु पनि किनेका छन् ।

त्यसैगरी जोरपाटीमा रहेको लिम्पिया ईन्टरनेस्नल स्कुलमा समेत मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संंस्थाको तर्फबाट सहकारी ऐन विपरित करिब ८ करोडको सेयर रहेको छ ।

सचिव गेलालका अनुसार १० करोडसम्म ऋण लिने अधिकांश ऋणीहरुले ऋण चुक्ता गर्न ढिलाई गरेका कारण सहकारी समस्यामा परेको छ ।

त्यसैगरी कोषाध्यक्ष रबीन कुमार कार्कीले पनि ५ करोड ऋण लिएका थिए । उनले पनि ऋण तिरेका छैनन् । साथै, संस्थाका संचालक सेखर बस्नेतको नाममा झापामा संस्थाको लगानी रहेको जग्गा रहेको छ । संस्थाको लगानीमा खरीद गरिएका जग्गाहरु अन्य स्थानमा पनि रहेको गेलाल बताउँछन् । सेखर बस्नेतले आफु र घर परिवारको तर्फबाट समेत ५ करोड भन्दा बढि ऋण लिएका छन् ।

पछिल्ला २/३ बर्ष यता देखि संस्थामा आर्थिक समस्याहरु देखिन थालेको सचिव गेलालले सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् । यसरी सहकारी ऐनले निषेध गरेका सबै काम गरेर संस्थाका अध्यक्ष रेग्मी फरार भएका छन् ।
संस्थाबाट बचत कर्ता सेयर सदस्यहरुले रकम फिर्ता माग्ने र संस्थाको ऋण नउठ्ने अबस्था देखिन थालेपछि संस्थाका कार्यालयहरु बन्द गर्ने अबस्था आएका उनको भनाइ छ ।

संस्थाबाट ऋण लिई जग्गा घर जग्गाको काम गर्ने ब्यक्तिहरुको समेत आर्थिक मन्दि कै कारण ब्यबसाय संचालन हुन सकेन र त्यसको प्रभाव संस्थामा समेत देखिएको हो । तर, सरकारीबाट ऋण लिएर घरजग्गाको कारोबार गर्न भनेर सहकारी खोलिएका होइनन् । सहकारी ऐन विपरित केहि टाढाबाढाले सहकारीको पैसा ऋण लिँदै घरजग्गा कारोबार गरेर कमाउने उपाय गरेका कारण अन्य सहकारी झैं मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संंस्था पनि समस्यामा परेको हो ।

पछिल्लो १ बर्षदेखि संस्थाको नियमित बैठकहरु बस्न छोडेको गेलाल बताउँछन् । नियमित बैठक नबस्ने तर संस्थाका पदाधकारीहरुले आफुखुशी ऋण प्रबाह गर्ने काम पछिल्लो १ वर्षदेखि हुन थालेको उनी बताउँछन् ।

‘कतिपय संचालकहरुले त बिना धितो ऋण प्रबाह समेत गरेको हुँदा त्यस्तो ऋणहरु असूल हुन सकेनन् । संचालकहरु आफैले समेत ऋण लिई संस्थामा नबुझाउने र आफु जिम्मा बसेर प्रबाह गरेको ऋण समेत उठाउने तर्फ कुनै पहल नगर्ने भएको हुँदा सहकारीको समस्या समाधान हुने अबस्था रहेन,’ बयानमा गेलालले भनेका छन् ।

संस्थाका कोषाध्यक्ष रबिन कार्की र उनको घरपरिवारले संस्थाबाट करिब ८ करोड ऋण लिएका छन् । उनले आफुले चिनेका कतिपय सेयर सदस्यहरुलाई धितो लिएर र धितो नलिएर समेत ऋण प्रबाह गरेका छन् ।

सहकारीले १६२ जना बचतकतर्चाको २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ ठगेको उजुरी परेको छ ।

बचतकर्ताको उक्त रकम ठगीमा संलग्न १० जनामध्ये अध्यक्षसहित ६ जना फरार रहेका छन् । ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । १० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा दायर गरेको छ ।
अहिलेसम्म सहकारीका उपाध्यक्ष गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका–५ बासुदेव भट्ट, सहकारीका सचिव महोत्तरी जिल्ला बर्दीबास नगरपालिका–११ का इन्द्रप्रसाद गेलाल, सहकारीका सदस्य प्यूठान जिल्ला माण्डवी गाउँपालिका–१ का शरद कुमार अधिकारी, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने पक्राउ परेका छन् ।

यस्तै बचतकर्ताको बचत ठगेर फरार हुनेमा सहकारीका अध्यक्ष बझाङ जिल्ला छबिसपाथिभरा गाँउपालिका–४ का महाशंकर रेग्मी, संस्थाका कोषाध्यक्ष ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका–१० का रविन कुमार कार्की, सहकारीका सदस्य काभ्रे जिल्ला पनौती नगरपालिका–४ का राजकुमार श्रेष्ठ, लेखा समितिका सदस्य म्याग्दी जिल्ला बेनी नगरपालिका–२ का प्रकाश घिमिरे, लेखा समिति सदस्य काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ की सुभद्रा चौलागाई र सहकारीका सदस्य दोलखा जिल्ला तामाकोशी गाउँपालिका–१ शेखर बस्नेत फरार रहेका छन् ।

उक्त सहकारीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको छ ।


क्लिकमान्डु