५ करोडभन्दा कम बजेट विनियोजन नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता विपरित १ लाखका योजना परे: माओवादी सांसद



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले ५ लाख भन्दा कमको बजेट विनियोजन शहरी विकास मन्त्रालयले विनियोजन गरेकोमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोडभन्दा कम बजेट विनियोजन नगर्ने प्रतिवद्धता जनाएपछि त्यस विपरित बजेट आएको भन्दै उनले आक्रोश व्यक्त गरे । बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले ५ करोड भन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमति विपरितका बजेटहरु विनियोजन गर्नु गलत भएको बताए । उनले द्वन्द्व पीडितहरुलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा असन्तुष्टि व्यक्त गरे ।

‘शहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरु १७७ वटा रहेछन् । जबकी हामीले ५ करोडभन्दा बढिको योजना समावेश नगर्ने भनेका थियौं । तर ५ लाख बराबरको १७७ वटा योजनाहरु छन् । ३ लाखका २४ वटा योजनाहरु छन । र, १ लाखका ९१ वटा योजनाहरु देखिएका छन्,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको भनाई र गराई मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजनाहरु गर्दाखेरी मिलेन भन्ने मलाई लाग्छ ।’

सांसद घर्तीमगरले बजेट वितरणमुखि भएको पनि आरोप लगाए।


क्लिकमान्डु