आईसीसी टी-२० विश्वकपमा सहभागी हुँदा अनियमिता, संसदमा छानबिन आयोग गठनको माग



काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले आइसीसी टी ट्वान्टी विश्वकप प्रतियोगितामा नेपालको सहभागितका क्रममा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसीसी टी ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागी हुने क्रममा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानबिन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरे।

नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने उनको भनाइ छ । सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको उनको दाबी छ ।

‘अमेरिका र वेस्ट इण्डिज्को संयुक्त आयोजनामा टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशिघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु,’ उनले भने, ‘टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन् ।’

टोलीमा डाक्टरलाई पठाउनु पर्ने सट्टा असंवन्धित व्यक्तिलाई पठाइएको उनको आरोप छ ।

‘डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार गर्‍यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठूलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैध रुपमा जर्सीहरु अमेरिका लगेर नेपालीहरुलाई महङ्गोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन् ।’

खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहिन ढंगले बिक्री गरि हिनामिना गरेको कुरा उठिहरेकोले छानबिन गर्नु पर्ने उनको भनाइ छ ।

‘अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भने ।


क्लिकमान्डु