भैरहवामा ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमबाट फुत्किँदै: लगानी निगमको, प्रतिस्पर्धा निजीसँग



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाको गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्राउण्ड ह्याण्डलिङ सेवा वायुसेवा निगमबाट खोस्ने भएको छ । निगमले हाल दिँदै आएको सेवामा अब हिमालय एयरलाइन्स, बुध्द एयर, श्री एयरलाइन्स र यति एयरलाइन्सबीच प्राधिकरणले प्रतिस्पर्धा गराउने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार बनाउने गरी नियमित उडान सेवा सुरु गर्ने शर्तमा निजी वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने निर्णय गरेको हो ।

प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयअनुसार अब अन्तर्राष्ट्रिय उडान अनुमति तथा प्रमाणपत्र प्राप्त नेपाली वायुसेवाबाट गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रस्ताव माग गरिने सार्वजनिक सूचनामा उल्लेख छ ।

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान सेवा सुरु गर्ने शर्तर्मा नेपाल वायुसेवा निगमका अतिरिक्त आन्तरिक उडानका यति, बुद्ध, श्री र अन्तर्राष्ट्रिय उडानका हिमालयन एयरलाइन्सबीच ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि प्रतिस्पर्धा गराइने भएको हो । हाल नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवामा हिमालय र नेपाल वायुसेवा मात्रै छन् । बुद्ध, यति र श्रीसँग आन्तरिक उडानका जहाज भएको र भैरहवाबाट नियमित उडान भइरहेकोले यी नै वायुसेवाबीच प्रतिस्पर्धा गरेर निजीलाई खुला गर्ने गरी प्राधिकरणले तयारी गरेको हो ।

गौतमबुद्ध विमानस्थलमा हाल नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि आवश्यक लगानी गरिसकेको छ । वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनले गौतमबुद्धमा एक सेट पूरै सामान राखेर निगमले सेवा दिइरहेको बताए । निगमले हाल नियमित उडान पनि गरिरहेकोले यसका लागि निगम बाहेक अरु कोही प्रतिस्पर्धी हुन नसक्ने उनको भनाइ छ ।

‘निगमले हाल हरेक मंगलबार मलेसियाबाट भैरहवा हुँदै काठमाडौंसम्म उडान गर्दै आएको छ,’ उनले भने, ‘निगमले अहिले उडान संख्याअनुसार पुग्ने उपकरण राखिसकेको र लगानीसमेत गरिसकेकोले अन्य वायुसेवालाई नै ग्राउण्ड ह्याण्डलिङ सेवा दिने र प्रतिस्पर्धा उपयुक्त हुँदैन,’ उनले भने ।


क्लिकमान्डु