भरत ताल बनाउँदा गिटी बालुवा बिक्रीमा अनियमितता गरेको भन्दै मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको जानकारी दिए ।

गत चैतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मेयर भरतकुमार थापाविरूद्ध मुद्दा दायर भएको थियो । उनीविरूद्ध ५ करोड ३३ लाख ५३ हजार १९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसयता उनी निलम्बित छन्।

मंगलबार उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

वडा नम्बर ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको जनाएको छ ।

सागरनाथ वन विकास परियोजना अन्तर्गको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत बिना अनाधिकृत रूपमा माछा पोखरी निर्माण भएको अख्तियारको आरोप छ ।

यसरी निर्माण गर्दा ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । नदीजन्य पदार्थ बिक्री गर्दा सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ ।

यसरी उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ रकम हानीनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ । उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र जरिवाना माग गरेको छ ।


क्लिकमान्डु