असार ७ गते बजेट पास गर्ने तयारी, बाँकी ३ ऐन ११ गते पास हुने



काठमाडौं । सरकारले आउने असार ७ गते बजेट पास गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको पाक्षिक सम्भावित कार्यतालिकाअनुसार सो दिनका लागि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिने तयारी छ ।

असार १ देखि १४ गतेसम्मको क्यालेन्डर जेठ २८ गतेको कार्यव्यवस्था परामर्श समितिले परिमार्जन गरेको कार्यतालिका हो ।

जसअनुसार असार ७ गतेका लागि विनियोजन विधेयकअन्तर्गत ऊर्जा, जलस्रोत, सिंचाई, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय गरिएको छ । त्यसपछि विनियोजन विधेयक (बजेट) निर्णयार्थ प्रस्तुत हुनेछ ।

त्यसअघि अर्थात् ६ गते सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नेछन् । ४ गतेसम्म विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकमाथि छलफल हुनेछ भने ती मन्त्रालयका खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुनेछन् ।

५, ६ र ७ गते उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

७ गते बजेट पास भए सोही दिन आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक माथि विचार गरियोस् भन्ने कार्यसूची छ । सोही दिन आर्थिक विधेयकमाथि छलफल गर्न दिन तोकिनेछ ।

त्यसपछि ११ गते ३ विधेयकमाथि सभामा दफावार छलफल गरी निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यतालीका छ ।


क्लिकमान्डु