आफूलाई सहयोग नगरेको भन्दै उपप्रधानमन्त्री महासेठले गरे ७ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?



काठमाडौं । उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू अनुकुल काम नगरेको भन्दै धमाधम कर्मचारीहरुको सरुवा गरेका छन् ।

आफूले भने अनुसारको काम नगर्ने सहसचिवहरुको उनले सरुवा गरेका छन् । मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीको सरुवा भएको छ । उनलाई मध्यपहाडी लोकमार्गबाट सडक विभाग सरुवा गरेर जिम्मेवारीविहीन बनाइएको छ । मध्यपहाडी लोकमार्गमा भर्खरै बढुवा भएका थानेश्वर खत्रीलाई पठाइएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका प्रमुख अर्जुन अर्याललाई एक्जिम बैंक भारत, मातहतका परियोजनाहरु हेर्ने कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका प्रमुख विनोद मौवारलाई मन्त्रालय तानिएको छ । मदन भण्डारी राजमार्ग आयोजना प्रमुख बेलबहादुर भुजेललाई पनि मन्त्रालय तानिएको छ। मदन भण्डारी राजमार्ग आयोजनामा दिप बाराहीलाई पठाइएको छ ।

सुवराज न्यौपानेको एकै महिनामा दुईपटक सरुवा गरिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट बबरमहल सरुवा भएको थियो । पछिल्लोपटक उनको राष्ट्रिय सतर्कता केन्द्र सरुवा गरिएको हो ।

रेल विभागमा महानिर्देशक पद खाली छ । एक महिनादेखि रिक्त उक्त विभागको जिम्मेवारी तोकिएको छैन । ‘अत्यावश्यक कामै रोकिने ठाउँमा कोही पठाइएको छैन तर बार्गेनिङ गरेर अन्य ठाउँमा सरुवा गरिएको छ, ‘ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीले भने, ‘कर्मचारीलाई अनावश्यक दु:ख दिने नियत मन्त्रीमा देखियो । उनले भने अनुसार कतिपय काम गर्न सकिदैन ।’

उनले मन्त्री सम्हालेको एक साता नबित्दै आफू अनुकुल काम गर्न नसक्ने भन्दै सचिव सरुवा गरेका थिए । केशव कुमार शर्मालाई जल तथा ऊर्जा आयोग पठाएर उनले ऊर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई भित्र्याएका थिए । शर्मा सडक विभागको महानिर्देशक हुदाँ अघिल्लो पटक महासेठ मन्त्री थिए । महासेठले केहि निर्माण व्यवसायीको भुक्तानी दिन दबाब दिएका थिए । शर्माले कानुन अनुसार नमिल्ने जवाफ दिएपछि मन्त्री रुष्ट बनेका थिए ।

उनी पुन: यातायात मन्त्री बने । त्यतिबेलासम्म शर्मा बढुवा भएर सोही मन्त्रालयको सचिव बनेका थिए । अघिल्लो पटक भनेको नटेरेको भन्दै मन्त्री बनेको एक सातामै शर्मालाई सरुवा गरेका थिए । स्रोतका अनुसार महासेठसँग कर्मचारीहरु हैरान भएका छन् । ‘कर्मचारीहरुले नेतृत्व विरुद्ध बोल्न सक्दैनन् तर महासेठले धेरै दु:ख दिएका छन्,’ स्रोतले भन्यो, ‘भनेको टेरेन भने जिम्मेवारीविहीन बनाइदिन्छन् ।’


क्लिकमान्डु