बेलायती नेताहरुको बदनाम गर्ने ‘एक्स’ एकाउन्टमाथि कारबाही
एजेन्सी । सामाजिक सञ्जाल एक्सले बेलायतका राजनीतिज्ञहरुसहितका व्यक्तिहरुलाई बदनाम गराउने एकाउन्टहरुमाथि कारबाही गरेको छ । त्यस्ता केही एकाउन्टहरु र पोस्टलाई एक्सले हटाइदिएको छ ।
बेलायतको चुनावअघि त्यहाँ केही समूहले डिपफेक इमेज कसरी सिर्जना गर्दै शेयर गरिरहेका छन् भन्नेबारे बीबीसीले गरेको अनुसन्धानपछि एक्सले यस्तो कदम चालेको हो । तर त्यस्ता एकाउन्टहरुले ती भिडियो क्लिप लगायतका सामग्री वास्तविक थिए भन्नका लागि भ्रामक सूचना पनि सम्प्रेषण गरेका थिए ।
१२ महिनाभन्दा लामो समयदेखि उठाएका आरोपहरुबारे एक्सले पहिलो पटक यसरी जवाफ दिँदै कारबाही सुरु गरेको हो । यसअघि पनि पटक पटक यस्ता विषयमा कुरा उठाउँदा एक्सले कुनै प्रतिक्रिया दिएको थिएन । यसअघि ट्विटरको रुपमा विश्वप्रसिद्ध भएको सामाजिक सञ्जाललाई व्यवसायी एलन मस्कले किनेर नाम परिवर्त गर्दै एक्स बनाएका हुन् । साथै थुप्रै फिचरहरु पनि परिवर्तन गरिएका छन् ।
पछिल्लो समय राजनीतिज्ञहरुको मानहानी गर्ने एकाउन्टहरुमाथि कारबाहीको विषयलाई लिएर एक्सले चुनावको आसपासमा प्रयोगकर्ताहरुबीच भएको कुराकानीलाई सुरक्षित राख्न अलग फिचर र नीति अवलम्वन गरेको पनि बताएको छ । एक्सले सिन्थेटिक र हेरफेर गरिएको मिडिया नीति उल्लंघन गर्ने सामग्रीहरुलाई लेबलिङ गर्दै त्यस्ता सामग्री हटाउने पनि बताएको छ ।
जवकि ती ग्रुपले पोस्ट गरेका केही नक्कली क्लिप र पोस्टहर व्यक्तिगत बदनाम गर्ने किसिमका थिए । साथै तिनले राजनीतिक नेताहरुलाई झुटो चित्रण गरेको भन्दै व्यापक आलोचना भएको थियो ।