पुलमा फसेका खच्चडको उद्धारको क्रममा २ वटा मरे, ३ वटा अझै पुलमाथि



दैलेख । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार जारी रहेको छ । त्यसक्रममा २ वटा खच्चड मरेका छन् ।

आइतबार बिहान पुलको लठ्ठा चुँडिएर जालीमा फसेका खच्चडलाई पुलको तार काटेर उद्धार भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालका अनुसार अहिलेसम्म ८ वटा खच्चडको जीवितै उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा मरेका छन् ।

बाँकी ३ वटा खच्चडको उद्धार भइरहेको उनले बताए ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जालीमा खच्चड फसेका हुन् ।

उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी घट्नास्थलमा खटिएका छन् ।

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए।


क्लिकमान्डु