८५२ जना बचतकर्ताबाट १ अर्ब ५१ करोड ठगीको आरोप लागेका सीबी लामा कारागार चलान



काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभबिरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको प्रहरीले जनाएको छ ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस ८ का बासिन्दा लामा २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा काम गर्थे ।

२०५२ भदौमा तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा उनले काम गरेका थिए ।

उनको साथबाट सामसुङ मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र ६ थान सिम फेला परेको प्रहरीले जनाएको छ ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रहेको खुल्न आएको उनले बताए ।

साउन १ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको थियो । उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको प्रहरीको भनाइ छ ।

लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु