सुन व्यवसायीद्वारा भन्सार वृद्धिको निर्णय खारेज गर्न माग



काठमाडौं । सुनचाँदी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा गरिएको ५ प्रतिशत भन्सार वृद्धि खारेज गर्न माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सरकारले २०८१र०८२ को बजेटमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत पुर्‍याएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले उक्त निर्णय तत्कालै खारेज अर्थमन्त्री पुनको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

सरकारले गत वर्ष भन्सार महसुल विद्येयक २०८० मार्फत सुनको आयातमा भन्सार वृद्धि गरेको थियो ।

‘सरकारले गत वर्ष पनि भन्सार वृद्धि गरेको थियो,’ अध्यक्ष सुनारले भने, ‘ सरकारले व्यवसायीहरुसँग सल्लाह नगरी एकलौटी भन्सार वृद्धि गर्दा यो व्यवसाय नै धरासायी हुने अवस्थामा पुग्यो ।’

उनले देशभर २० हजार बढी सुनचाँदी व्यवसायमार्फत २ लाख बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएको स्मरण गराए ।

व्यवसायीहरुले अर्थमन्त्री पुनलाई ध्यानाकर्षण पत्र बुुझाउँदै सुन आयात भन्सार दर वृद्धि हुँदा छिमेकी मुलुक भारत र खुल्ला सिमानाका कारण अवैध कारोवारी समेत बढेर जाँदा र भारतीय सिमाना नजिकका नेपाली व्यवसायीहरुलाई त्यसको असर पर्ने मागपत्रमा उल्लेख छ ।

यस्तै अहिलेको आर्थिक विधेयकले सार्क राष्ट्रबाट सुनको आयात गर्दा यो विधेयकले व्यवसाय धरापमा पर्ने बताएका छन् ।

व्यवसायीहरुले नेपालमा कोटा प्रणालीमा आधारित रही सुन आयात भइरहेको नेपालको विद्यमान अवस्थामा राज्यले भन्सार दर वृद्धि गर्दा सुन आयातमा सरकारले प्राप्त गर्दै राजश्व समेत घटेर जाने विज्ञप्तीमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु