म पनि सहकारी पीडित हुँ: प्रधानमन्त्री (भिडियो)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि सहकारी पीडित जस्तै बनेको बताएका छन् ।

सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो दल नेकपा माओवादी केन्द्रका कतिपयले सहकारी खोलेको र उनीहरुले आफूलाई सताएको प्रधानमन्त्रीको भनाइ छ ।

‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरु पनि जसले सहकारी खालेर काम गर्न भनेर सुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई,’ प्रधानमन्त्रीले भने, ‘ किनभने ती सहकारी खोल्ने साथीहरुले जस्तो मलाई अरुले सताएका छैनन् ।’

प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै उनले सो प्राधिकरण बनाएर अघि बढने बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरु हुने उनले बताए ।

सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यस सम्बन्धि बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

सहकारीलाई त्यसको मुलभुत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यामजस्तो बनाईसकेपछि विकृति देखा पर्नु अपरिहार्य रहेको उनले बताए ।


क्लिकमान्डु