१६ लाख पर्यटक भित्र्याउन नयाँ गन्तब्य पहिचान भइरहेको छ: पर्यटनमन्त्री



काठमाडौं । नेपालमा १६ लाख पर्यटक भित्र्याउन नयाँ गन्तब्य पहिचान भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यला आगामी आर्थिक वर्षको बजेटमा नै राखिएको छ ।

पर्यटन मन्त्री तामाङले आगामी वर्षको सरकारी लक्ष्य पूरा गर्ने गरी धेरै पर्यटक भित्र्याउन नयाँ गन्तब्य खोजिने कार्य भइरहेको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणलाई सम्बोधन गर्ने क्रममा बताएका छन् । मन्त्री तामाङले १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रबर्द्धन गर्न सकिने धारणा राखे ।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङ्को भनाइ छ । उनले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन संचालन गर्न सरकारले तयारी गरिरहेको बताउँदै गर्मी छल्न विशेष गरि नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाई अनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राखे ।

कयौ मनमोहक बनाउने सुन्दर ताल र हिमश्रृंखलाहरु नेपालमा रहेको भन्दै उनले शान्तिको प्रतिक भगवान गौतम बुद्ध (लुम्बिनी), पशुपतिनाथ, मुक्तिनाथ लगायत कयौं धार्मिकस्थल पर्यटनको राम्रो गन्तब्य हुनसक्ने धारणा राखे । सरकारले यस क्षेत्रको बिकासको लागि पहिले लगाउँदै आएको भ्याट र केही कर हटाउने काम भैरहेको र यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उनको भनाइ छ ।

बिश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचिमा पर्ने हुँदा अब पुरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सुरु भैसकेको उनले बताए । उनले भने यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको छ ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए ।

पाटा नेपालको अध्यक्षमा लकाइ

काठमाडौंमा दुई दिनसम्म चलेको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणसँगै बिहीबार नयाँ कार्यसमिति चयन भएको छ । बिहिबार भएको सभाले खेमराज लखाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

पाटाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्ट नेपालमै गर्दै आएको छ । यस ट्राभल प्रदर्शनीमा करिब ४०-४५ देशहरूले भाग लिने गरेका छन् । यस कार्यक्रममा विदेशी पर्यटन विज्ञ स्रोत व्यक्तिहरू समेत नेपाल आएका थिए


क्लिकमान्डु