मौलिक संस्कृति हेर्न पाइने नेपालकै पहिलो भिगन रेस्टुराँ, ‘द भिगन किचेन’

1.9k
Shares

काठमाडौँ । काठमाडौंको ठमेलमा द भिगन किचेन रेस्टुराँ सञ्चालनमा आएको छ । द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ भएको यसका सञ्चालकहरुले बताएका छन् । चार जनाले संयुक्त रुपमा यो किचेन सञ्चालनमा ल्याएका हुन् ।

उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष संघर्ष बिष्ट, पर्यटन व्यवसायी तथा गीतकार देवेन गिरी र नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्काले रिबन काटेर संयुक्त रुपमा रेस्टुराँ उद्घाटन गरेका थिए ।

ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । जुन बिहान १० बजेदेखि राति १० बजेसम्म खुला रहने बताइएको छ । रेस्टुराँमा सेटन बिर्‍यानी, मिन्ची बिर्‍यानी, स्टिक बिर्‍यानी, छोयला, मम, भिगन सिजलर, थाली लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ ।

यस्तै हर्बल टी, सोया टी, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ । द भिगन किचेनको सजावट पनि विशेष र आकर्षक छ ।

गोबरले लिपिएका यहाँका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । गाउँको झल्को दिने पारिवारिक वातावरण छ । नेपालमा पछिल्लो समय मानिसहरु भिगनप्रति आकर्षित हुँदैगरेको सन्दर्भ कोट्याउँदै सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठ भन्छिन्, ‘माछा, मासु र दुधमा जति प्रोटिन पाइन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाइन्छ ।’

रेस्टुराँको मेनु पनि तुलनात्मक रुपमा महंगो नभएको श्रेष्ठको भनाइ छ । भिगनका विभिन्न परिकारहरुका साथै यहाँ नेपालको मौलिक संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिन्छ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् । सञ्चालकहरु प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राईले प्रारम्भिक चरणमा १२ जनालाई रोजगारी प्रदान गरेका छन् ।

Skip This