जापानको प्रतिष्ठित कम्पनी टोयोटामा सरकारले छापा मार्‍यो



एजेन्सी । फेक डेटा प्रकरणमा जापानको प्रतिष्ठित कार निर्माता कम्पनी टोयोटामा त्यहाँको यातायात मन्त्रालयले छापा मारेको छ । विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनी टोयोटाले भने सुरक्षा प्रमाणीकरण परीक्षणको लागि गलत डाटा प्रदान गरेकोमा माफी मागेको छ।

टोयोटाको यस्तो काण्डले जापानको कार उद्योगमा नै तरंग ल्याइदिएको छ । यससँगै टोयोटाका प्रतिस्पर्धी होन्डा माज्दा र सुजुकीले पनि गलत डेटा प्रयोग गरेको स्वीकार गरेका छन् । टोयोटाले मात्रै २०२३ मा १ करोड १० लाखभन्दा धेरै यात्रुवाहक सवारी बिक्री गरेको थियो । तर सडकमा पहिल्यैदेखि चलेका सवारी साधनको सुरक्षामा नयाँ डेटाको प्रयोग सम्बन्धी निर्णयले असर नगर्ने टोयोटाले बताएको छ।

यससँगै टोयोटाले तीनवटा मोडल कोरोला फिल्डर, कोरोला एक्सियो र यारिस क्रसको उत्पादन स्थगित गरेको छ । टोयोटालाई सुरक्षा परीक्षणको क्रममा परिमार्जित सवारी साधनहरू प्रयोग गरेको आरोप पनि लगाइएको छ । जुन सवारी साधनहरू हाल उत्पादन भएका छैनन् ।

टोयोटाका प्रमुख अकियो टोयोटाले आफ्ना कमजोरीबारे ग्राहकहरुप्रति माफी मागेको एक दिनपछि सरकारले कम्पनीमा छापा मारेको हो । जापानमा यस्ता कमजोरीका लागि कम्पनीहरुले ग्राहकहरुसँग माफी माग्ने गर्छन् । जुन त्यहाँको संस्कृतिकै रुपमा प्रचलित छ । अकियोले शीर झुकाउँदै माफी माग्दै भने, “हामीले प्रमाणीकरण प्रक्रियालाई बेवास्ता गर्‍यौं । र उचित सावदानी नअपनाइकन ठूलो मात्रामा कार उत्पादन गर्‍यौं ।”

जापानी अन्य कार निर्माताहरु होन्डा माजुदा र सुजुकीमाथि पनि सरकारी अधिकारीहरुले यही विषयमा निरीक्षण गर्ने बताइएको छ । होन्डाले भने आवाज र इन्जिन पावर सम्बन्धी परीक्षणको क्रममा आफ्नो कमजोरी रहेको स्वकार गरेको छ । तर आफ्ना कारहरु ड्राइभका लागि सुरक्षित रहेको होन्डाले उल्लेख गरेको छ । मज्दाले पनि आफ्नो कार ढुवानी रोक्नुका साथै आफ्ना वितरकको लगानी व्योहोर्ने बताएको छ ।


क्लिकमान्डु