बजेटप्रति हस्तकला महासंघको बिरोध



काठमाडौं । नेपाल हस्तकला महासंघले सार्क हस्तकला विकास केन्द्र स्थापना र सञ्चालन गर्न सरकारले बजेट बिनियोजन नगरेको भन्दै दुःख व्यक्त गरेको छ ।

हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि एकै छानामुनिबाट वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणिकरण, बजारिकरण र व्यवसाय सेवा एकीकृत रुपमा उपलब्ध गराउने उद्देश्यले स्थापनाका लागि सार्क हस्तकला विकास केन्द्र स्थापना र सञ्चालन गर्न सरकारले बजेट बिनियोजन नगरेको महासंघले बिज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।

महासंघका अनुसार यो केन्द्र सार्वजनिक निजी नागरिक साझेदारी अवधारणा अन्तर्गत सरकार, नेपाल हस्तकला महासंघ र सार्क विकास कोषको सहयोगमा स्थापना गर्ने लक्ष्य राखिएको थियो ।

निकासीकर्ताले विदेशी मुद्रा प्राप्त भएको कागजात पछि पेश गर्ने शर्तमा अमेरिकी डलर २५ हजारसम्मको सामान निकासी गर्न पाउने ब्यवस्थाले हस्तकला निर्यातमा सकारात्मक प्रभाव परेको भन्दै महासंघले हस्तकला निकासी ब्यापार प्रवद्र्धनको लागि सरकारले प्रदान गर्दै आएको नगद प्रोत्साहन निकासीकर्ताको खातामा जम्मा गर्नुपर्नेलगायतका मागसमेत आगामी आर्थिक बर्षको बजेटले सम्बोधन नभएको भन्दै बजेटप्रति विरोध जनाएको छ ।

महासंघले बौद्धिक सम्पत्ति सम्बन्धी कानून र हस्तकला क्षेत्रको दिगो विकासको लागि हस्तकला नीतिलाई चाँडै अन्तिम रुप प्रदान गर्न सरकारसँग माग गरेको छ ।

बौद्धिक सम्पत्ति सम्वन्धी कानूनमा देशको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व हुने हस्तकला वस्तुको बौद्धिक सम्पति संरक्षण गर्न सामुहिक व्यापार चिन्ह विकासको लागि महासंघले अनुदान उपलब्ध गराइदिन समेत सरकारसँग माग गरेको छ । निजी क्षेत्रका संघ संस्थाबाट विकास गरिएका सामुहिक व्यापार चिन्हको प्रर्वद्धनका लागि आवश्यक आर्थिक श्रोत र कानूनी संरक्षणको व्यवस्था गर्न समेत महासंघले सरकारसंग माग गरेको छ ।


क्लिकमान्डु