टी-२० क्रिकेट विश्वकप जित्ने टोलीले कति पाउँछ पुरस्कार रकम ?

नेपालले आज नेदरल्याण्डसँग विश्वकपको पहिलो खेल खेल्दै



काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी-२० विश्वकपको नवौं संस्करणको विजेताले २.४५ मिलियन अमेरिकी डलर अर्थात् ३२ करोड ५६ लाख रुपैयाँभन्दा धेरै रकम पुरस्कार पाउने भएको छ ।

उपविजेता टोलीले भने १.२८ मिलियन अर्थात् १७ करोड १ लाख ५५ हजार रुपैयाँभन्दा धेरै प्राप्त गर्नेछ ।

२० टोलीबीच हुने प्रतियोगिताको जम्मा पुरस्कार रकम भने ११.२५ मिलियन अमेरिकी डलर रहेको छ । यसमध्ये सेमिफाइनलबाट हार्ने टोलीलाई ७ लाख ७८ हजार अमेरिकी डलर प्रदान गरिने छ ।

यसवाहेक सुपर ८ समूहबाट बाहिरिने चारवटा टोलीलाई ३ लाख ८२ हजार डलर दिइने बताइएको छ । यससँगै सबै टोलीले फाइनल र सेमिफाइनल बाहेकका खेल जित्दा अतिरिक्त रकम पनि पाउनेछन् ।

यस्तै समूह डी मा रहेको नेपाली टोलीले कम्तीमा २ लाख २५ हजार डलर अर्थात् झण्डै ३ करोड नेपाली रुपैयाँ पाउने पक्कापक्की भएको छ । तर कुनै एउटा खेल जिते थप ४१ लाख नेपाली रुपैयाँको हकदार हुनेछ ।

एक महिनासम्म चल्ने विश्वकप क्रिकेट पुरस्कार राशि ,टिम सहभागिता र अवधिका हिसावले सबैभन्दा महंगो र ठूलो पनि सावित हुने देखिएको छ । दुई देशका ९ वटा रंगशालामा विश्वकप खेलाइनेछ ।

समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९:३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।


क्लिकमान्डु