ओली-बालेन विवाद श्रृंखला: २६ हजारको भीडमा बालेनको त्यो कमेन्ट…



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच केही समययता जुहारी चल्दै आएको छ । एकअर्कालाई कहिले आरोप प्रत्यारोप गर्छन् भने कहिले छेडखानी गरिरहेका हुन्छन् ।

गिरिबन्धु टी स्टेटको जग्गा प्रकरण र महानगरमा फुटपाथ फराकिलो बनाउने विषयलाई लिएर दुवै जना सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । सोमबार मात्रै मेयर शाहले ओलीको नाम नै किटान गरेर १० हजार करोडको गिरीबन्धु जग्गा प्रकरण लुकाउन अर्को काण्ड गरेर जनतालाई झुक्याइरहेको आरोप लगाए ।

बालेनको यस्तो आरोपपछि ओली पनि आक्रोशित बने । त्यसको जवाफ उनले संसद बैठकपछि पत्रकारहरुले सोधेको प्रश्नमा दिएका थिए । गिरीबन्धु प्रकरणबारे पत्रकारले सोधेको प्रश्नमा ओलीले औंला तेर्स्याउँदै भने,’बालेनलाई सोध्नु ।

सोमबार दिनभर ओली र बालेनको जुहारी सामाजिक सञ्जालमा सेलाउन नपाउँदै मेयर शाहले साँझ फेरि ओलीमाथि अर्को व्यंगात्मक टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले पत्नी राधिकासँगको तस्बिर पोस्ट गरेका मात्रै के थिए त्यहाँ कमेन्ट गर्न आइपुगे उनै बालेन ।

ओलीले गोसाइँकुण्डको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि !’

राति १० बजेसम्म ओलीको यो तस्बिरमा रियाक्सन गर्नेहरु २६ हजारभन्दा धेरै पुगेका छन् । ८ हजार ५ सयभन्दा धेरैले कमेन्ट गरेका छन् । तर ८५ सय कमेन्टमध्ये बालेनको एउटै कमेन्टले धेरैलाई तानेको छ । बालेनले त्यहाँ ओलीलाई व्यंग्य गर्दै कमेन्ट गरेका छन्,’ओहो । गुड नाइट केबी बा । ह्याभ अ स्विट ड्रिम ।’

रोचक त के भने बालेनको यो सानो कमेन्टमाथि राति १० बजेसम्म २८ हजारले रियाक्ट गरेका छन् भने १ हजार ३ सय ८४ जनाले कमेन्ट गरेका छन् । र रियाक्ट गर्नेहरुमध्ये अधिकांशले हाँसो र लभ रियाक्ट दिएका छन् ।

सामाजिक सञ्जालमा फ्यानहरुका प्रतिक्रियामा रमाउने दुवै नेताहरुको यो रमाइलो सिँगौरीले देखिँदैछ, उनीहरु को बढी लोकप्रिय भनेर प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसो त ७४ वर्षीय ओली पनि सामाजिक सञ्जालमा पर्याप्त सक्रिय हुन्छन् । कहिले उनी टिकटकमा भिडियो बनाएर पोस्ट गर्छन् त कहिले ठमेलको एलओडीमा पुगेर सेल्फी खिच्छन् । बालेन त आफैं र्‍यापर नै भए । पछिल्लो समय सामाजिक सञ्जालमा यी दुईको प्रतिस्पर्धा कसको फ्यान कति भनेर परीक्षण गरे जस्तो पनि देखिन थालेको छ ।

सोमबार बिहानै मेयर बालेनले लेखेका थिए : ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । अब बल्ल देश बन्ने भएछ ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

उनीहरुबीचको पछिल्लो विवाद भने जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने महानगरको योजनासँग जोडिएको छ । जहाँ काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघुर्‍याउन थालेको भन्दै सडक विभागले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो । तर मेयर बालेनले सडक विभागलाई मापदण्ड अनुसार आफूले काम गरेको उल्लेख गरेका थिए ।

सडक विभागले भने सोमबार बिहानैदेखि भत्काएको सडक पिच गरिदिएको थियो । साथै महानगरको यस्तो योजनामा एमालेले पनि विरोध गर्दै आएको छ । मेयर शाहले भने सडक विभागलाई एमालेले साथ दिएको भन्दै आफ्नो रिसको तारो ओलीतिर सोझ्याइरहेका छन् ।

विवाद र व्यंग्यको यो श्रृंखला यतिमै रोकिएला जस्तो भने देखिँदैन । बालेन पेलेरै भए पनि सहरका घर भत्काएर वा सडक भत्काएर काम गरेर लोकप्रिय बन्ने दौडमा छन् । एमालेलाई भने आफ्नो चुनावी आधार इलाका भत्काएर एउटा निर्दलीय युवाले जनमत बटुल्ने हो कि भन्ने चिन्ता छ । कुनै बेला तत्कालीन एमालेका मेयर केशव स्थापित र विद्यासुन्दर शाक्यले थामेको महानगरको जनमत अब ओलीविरोधी युवाको रुपमा चिनिएका बालेनतिर ढल्किने हो कि भन्ने चिन्ता एमालेका नेताहरुमा देखिँदैछ ।


क्लिकमान्डु