१० हजार करोडको गिरीबन्धु कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू: बालेन



काठमाडौं । फुटपाथ विस्तार गर्न भत्काएको न्युरोडको सडक टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् ।

फुटपाथ विस्तार गर्न भत्काएको स्थानमा सडक विभागले टाल्न थालेपछि उनी आक्रोशित भएका हसन् ।

उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको उनको टिप्पणी छ ।

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर आक्रोश पोखेका छन्।

‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ बालेनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

मेयर बालेनले ‘यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाएका छन् ।

‘अब बल्ल देश बन्ने भएछ ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ उनले भनेका छन् ।

काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन भन्दै सडक खनिरहेको थियो ।

काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघुर्‍याउन थालेको भन्दै विभागले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो । तर मेयर बालेनले सडक विभागलाई मापदण्ड अनुसार आफूले काम गरेको उल्लेख गरेका थिए ।

महानगरले सडक नटालेपछि सडक विभाग आफैंले आज बिहानबाट सडक टाल्न थालेको छ ।

यस्तो छ बालेनको स्टाटस

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।
झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ ।

गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनि पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।


क्लिकमान्डु