गिरीबन्धुबारे प्रश्न गर्दा रिसाए ओली, भने- बालेनलाई सोध्‍नू (भिडियो)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो जवाफ दिएका हुन् । सञ्चारकर्मीले गिरीबन्धु टि इस्टेबारे प्रश्न उठिरहेको छ नि भनि सोधेको प्रश्नको आक्रोशित हुँदै जवाफ दिनेक्रममा ओलीले भने- बालेनलाई सोध्नू।

आजै काठमाडौं महानगरका प्रमुख बालेनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको भन्दै ओलीको नाम उल्लेख गरेका थिए ।

फुटपाथ विस्तार गर्न भत्काएको न्युरोडको सडक टाल्न थालेपछि काठमाडौं मेयर शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए ।

‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ बालेनले सामाजिक सञ्जालमार्फत् भनेका थिए ।

मेयर बालेनले ‘यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाएका छन् ।

‘अब बल्ल देश बन्ने भएछ ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ उनले भनेका छन् ।

काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन भन्दै सडक खनिरहेको थियो । तर सडक विभागले आज भत्काएको स्थानमा पिच गरेको छ ।


क्लिकमान्डु