बालेनलाई काम गर्न दिनुपर्छ: कांग्रेस नेता भण्डारी



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन् ।

यातायात मन्त्रालयले काठमाडौंको न्युरोडस्थित सडकपेटी बिस्तार गर्न नदिएको आरोप लागिरहेको बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरे ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौं भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए । उनले गिरीबन्धु टि इस्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

‘गिरीबन्धु कसले गर्‍यो ? यो अनुसन्धानको विषय हो । गिरीबन्धुहरुको कारणले धेरै नेपालीहरु ठगिएका छन् । जसरी सहकारीमा ठगिएका छन् । यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ । र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ,’ उनले भने, ‘दोस्रो कुरा जुन बालेनहरु नयाँ जेनेरेशन आएका छन् । उसलाई केही गरौं भन्ने हुटहुटी छ । हामीले त्यो काम गर्न दिनुपर्छ । आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु । मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन । र काम गर्न दिनु पर्छ । म युवा जेनेरेशनको पक्षमा छु । तर धेरै बोल्ने, नचाहिने कुरा गर्ने, आपसमा द्वन्द्व गर्नेहरुको पक्षमा होइन ।’


क्लिकमान्डु