बजेट विनियोजन गलत किसिमबाट भयो: पूर्वअर्थमन्त्री महत



काठमाडौं । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समयसापेक्ष नभएको टिप्पणी गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद डा. प्रकाशशरण महतले बजेटको कार्यान्वयनमा थुप्रै आशंका व्यक्त गरे ।

१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन लागि अर्थमन्त्री वर्षमान पुनले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय गरेको डा मतले बताए । ऋणको भार बढिरहेका बेला यति ठूलो आन्तरिक ऋण लिने निर्णय लिनु सही नभएको उनको भनाइ छ ।

‘१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री वर्षमान पुनजीले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो होइन,’ महतले भने ।

उत्पादनशील क्षेत्रमा खर्च नगर्ने र गलत स्थानमा लगानी गर्दा राजस्व वृद्धि नहुने उनको भनाइ छ ।

उत्पादन र रोजगारी बढे मात्रै राजस्व वृद्धि हुने र यो ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका महतले व्यक्त गरे । ऋण तिर्नैका लागि अर्को ऋण लिनु पर्ने अवस्था बन्ने भन्दै उनले यसले देशको अर्थतन्त्र कहाँ पुग्छ भन्दै प्रश्न गरे ।

पूर्वअर्थमन्त्री महतले बजेट विनियोजन पनि गलत किसिमबाट भएको टिप्पणी गरे । उनले भौतिक मन्त्रालयलाई बजेट बढाएको आपत्ति जनाए ।

‘भौतिक मन्त्रालयलाई १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याउनुभयो,सहरी विकास योजनामा ६६ अर्ब ९२ अर्ब बनाउनुभयो । यो उचित होइन,’ उनले भने ।


क्लिकमान्डु