सहकारी प्रकरण छानबिन समितिको कार्यालय सिंहदरबारमा रहने



काठमाडौं । सहकारी संस्थाहरुको अपचलन भएको रकमको बिषयमा छानविन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले आफ्नो काम सुरु गरेको छ ।

अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक तयारीमा जुटेको हो । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाले दिएको समयसीमाभित्रै समितिले काम थाल्ने जानकारी दिए ।

दाहालले भने, ‘समितिका सभापतिसँग कुराकानी भइरहेको छ । प्रतिनिधि सभाले समिति गठन भएको ७ दिनभित्र काम गर्न समय दिएको छ।’

उनका अनुसार छानविन समितिको कार्यालय सिंहदरबारमै स्थापना गर्ने तयारी भइरहेको छ । कार्यालय स्थापना भएपछि छानविन र अनुसन्धानको प्रक्रिया अघि बढाउन आवश्यक पर्ने विज्ञ र अन्य आवश्यक सामाग्रीहरुको जुटाएर छानविनको काम अघि बढाउने उनले जानकारी दिए ।

समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन्। सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २-२, माओवादी, रास्वपा र राप्रपाका १-१ जना सदस्य रहनेछन्।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ। कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ। जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ। समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ।


क्लिकमान्डु