न्युरोडको सडक पेटी विस्तारलाई लिएर बालेन र वडाअध्यक्षबीच बिबाद (भिडियो)



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र वडाअध्यक्षबीच कार्यपालिका बैठकमा बिबाद भएको छ ।

न्युरोडको सडकमा फुटपाथ विस्तार गर्न लागेका महानगरका प्रमुख बालेन र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै बिबाद भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको विषयमा पत्रपत्रिकाबाट आफूले थाहा पाउनु परेको भन्दै आपत्ति जनाएपछि बालेन प्रतिवादमा उत्रिएका हुन् ।

‘देशकै एक ल्याण्डमार्क शहरमा पेटी बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने, यो किन भइरहेको छ ?,’ वडाध्यक्षले बैठकमा प्रश्न गरेपछि बालेनले अहिले फुटपाथ विस्तारको काम २४ नम्बर वडामा भइरहेकोले २२ नम्बरका वडाअध्यक्षले प्रश्न गर्न नमिल्ने बताए ।

‘२४ मा काम भइरहेको छ । २२ मा काम भएकै छैन, तपाईंलाई के समस्या भो?,’ मेयर शाहले वडाध्यक्ष महर्जनलाई प्रश्न गरे ।

जवाफमा वडाध्यक्ष महर्जनले समग्र न्युरोड क्षेत्रको बारेमा आवाज उठाएको बताएका थिए ।

‘न्यूरोड कहाँ पर्छ, न्यूरोडको भूगोल कहाँ पर्छ? अहिले भूगोलको विषयमा तपाईंलाई ज्ञान नभएको हो?,’ उनको प्रश्न थियो ।

वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न एकीकृत टेण्डरमा गएको हुँदा एउटा वडाको मात्र विषय नहरहेको बताएका थिए ।

बालेनले कार्यपालिका बैठकमा वडा नम्बर २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले इन्द्रचोकदेखि विशाल बजारको क्षेत्रको फुटपाथमा मान्छेलाई हिँड्न गाह्रो भएको, लुटपाट, दुर्व्यवहार, पाकेटमार लगायतका घटना भएको भनेर गुनासो आएकोले काम सुरु भएको बताए । विवाद बढ्दै जाँदा उनले २४ का वडाअध्यक्षलाई पनि फुटपाथ बढाउने कुरामा तपाईंलाई केही आपत्ति छ भनेर सोधेका थिए । जवाफमा राजभण्डारीले आफ्नो वडाका स्थानीयले निवेदन दिएकाले अन्य वडाबारे आफूलाई थाहा नभएको बताए ।

आफू सडक विभागको मापदण्ड अनुसार अघि बढेको बालेनले बताए ।

‘मान्छे हिँड्न र गाडी कुद्न जति सडक चाहिन्छ त्यति चाहिन्छ, मापदण्ड अनुसार जाने हो। सडक सम्बन्धी ऐननै संसदबाट फेर्छन् भने के गर्न सकिन्छ ?’ शाहले भने ।

मेयर बालेन र वडाध्यक्षको लामो सवाल- जवाफ भएपछि वडा नम्बर १७ का वडाध्यक्षले दुई जनाले दोहोरी खेलेर निचोडमा पुग्न नसकिने बताएका थिए ।

‘यसलाई लामो कुरा गरेर टुंग्याउन सकिँदैन,’ उनले भने, ‘दुई जनाको मात्र दोहोरी मात्र खेलेर पनि हुँदैन ।’ त्यस्तै, समिति गठन गरी अध्ययन गरेर प्रतिवेदनले सुझाए अनुसार काम गर्न आग्रह गरे । समिति गठन गरी अध्ययन गरेर प्रतिवेदनले सुझाए अनुसार काम गर्न आग्रह गरे।

अध्ययन गरेर फुटपाथ र बाटो कत्रो चाहिन्छ भयो भने त मान्नु हुन्छ नि’ मेयर शाहले चीनकाजीले सोधे, ‘हामीले गरेको सम्मानलाई तपाईंले अपमान गर्ने ?’


क्लिकमान्डु