नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गरिनुपर्ने, यस्ता छन् बजेटमा आइटी कम्पनीको सुझाव



काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत विभिन्न सुझावहरू दिइको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नास आईटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न विभिन्न सुझावहरू दिएको जानकारी गराएको छ ।

नास आईटीले आगामी वर्षको बजेटबाट विश्वसँग प्रतिस्पर्धा गर्न १० वर्षको लागि कर प्रोत्साहन नीति अगाडि सार्दै शून्य प्रतिशत कर्पोरेट कर र ८ प्रतिशत निर्यात क्रेडिट सुविधाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

बजेटमार्फत सूचना प्रबिधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पुर्‍याउन कर्जाको व्यवस्था गर्न, आईटी कम्पनीका लागि बीमा पोलिसी ल्याएर ५ वर्षसम्म प्रिमियम लागतको ९० प्रतिशत अनुदान दिन, आईटी पार्क तथा आईटी हब सञ्चालन गर्न, सफ्टवेयर खरिद गर्दा स्थानीय कम्पनीलाई प्राथमिकता दिन, अन्तर्राष्ट्रिय आईटी प्रदर्शनी भाग लिन, विदेशमा शाखा कार्यालय स्थापन गर्न सक्ने तथा आईटी बोर्ड गठनको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यस बाहेक नेपाली आईटी कम्पनी, उत्पादन र उद्योगको प्रवर्द्धन गर्न दुतावाससँग सहकार्य गर्नुपर्ने, ठूला सफ्टवेयरलाई पूर्वाधार परियोजना व्यवहार गर्नुपर्ने, पीपीपी मोडललाई प्रोत्साहन गर्नुपर्ने, खरिद प्रक्रियालाई सुधार गर्नुपर्ने भनाइ छ ।

सरकारले यी व्यवस्था गर्न सके आगामी १० वर्षमा नेपाली आईटी उद्योग निर्यात ७ खर्ब रुपैयाँको बनाउन सकिने र ग्लोबल टेक हबको रूपमा विकास गर्न सकिने नास आईटीले विश्वास व्यक्त गरेको छ ।

प्रविधिको विकास र प्रवर्द्धनका लागि स्थापन हुने आईटी बोर्ड स्वायत्त निकाय हुनुपर्ने र त्यसका लागि छुट्टै ऐन आउनुपर्ने बताइएको छ ।

नास आईटी अनुसार सरकारले शहरका विभिन्न भागहरूमा अवस्थित १५ हजारदेखि ३० हजार वर्ग फुट भवनहरू भाडामा लिएर आईटी पार्कमा हुने सुविधाहरूको व्यवस्था गरी साना आईटी पार्कमा परिणत गर्न सक्दछ ।

नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने भिजनसहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो ।

स्थापना कालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको छ ।


क्लिकमान्डु