काठमाडौं । सरकारी स्वामित्वमा ४४ सार्वजनिक संस्थानमध्ये २६ संस्थान नाफामा सञ्चालन भइरहेको पाइएको छ । आइतबार संसदमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक संस्थानहरुको वार्षिक प्रतिवेदनअनुसार २६ वटा संस्थान नाफामा गएको पाइएको हो ।
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाका अनुसार २६ संस्थान नाफामा जाँदा १५ वटा संस्थान घाटामा गएको छ भने ३ वटा संस्थानको कारोबार शून्य अवस्थामा छ ।
ति सबै संस्थानहरूको कुल सञ्चालन आय भने ६ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
प्रतिवेदअनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा पनि वृद्धि भएको छ । त्यो वर्षमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको पाइएको छ । यसरी आयमा उच्च वृद्धि हुनुको कारण नेपाल आयल निगम उच्च दरले नाफामा जानु मुख्य कारण मानिएको छ ।
अघिल्लो वर्ष ३८ अर्ब १७ करोड रुपैयाँबराबरको घाटा व्यहोरेको निगमले गत वर्ष भने ११ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब रुपैयाँबराबरको सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी छ । यस्ता सार्वजनिक संस्थानमार्फत ३२ हजार १ सय ८० जनालाई रोजगारी प्राप्त गरेका छन । सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
निजीकरण गरिएका १८ संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षसम्म २० संस्थानले लेखापरीक्षण गराएका छन् । लेखा परीक्षणअनुसार अत्यधिक नाफा गर्ने संस्थान नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।
बढी नोक्सानी बेहोर्ने संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन् ।
प्रतिक्रिया