बजेट पढ्ने बेलासम्म दलहरुबीच सहमति जुट्ने विश्वास लिएको छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट सार्वजनिक गर्ने समयसम्म पुग्दा दलहरुबीच समझदारी जुट्ने विश्वास व्यक्त गरेका छन् । आफूले संसद्‍को गतिरोध अन्त्यको प्रयास गरिरहेको उनको भनाइ छ ।

प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफूले केही दिनयता लगातार राजनीतिक दलहरुसँग छलफल गरिरहेको भन्दै उनले गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘हामीले यो स्थितिको अन्त्य गर्नैपर्छ । सभामुखज्यू! मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्षी दलका नेताहरूसँग छलफलको आयोजना गरिराखेको छु । यो गतिरोधको अन्त्य गर्नका निम्ति प्रयास भइराखेको छ । र, हामी सहमति र सहकार्यको धेरै नजिक पुगेको पनि बेलाबेलामा महसुस गरेका छौं,’ प्रधानमन्त्रीले भने, ‘आज बिहान पनि प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस सभापतिजीको घर बूढानीलकण्ठमै पुगेर सहमतिको प्रयास गरेको छ । मलाई आज र भोलि, बजेट वक्तव्य पढ्ने बेलासम्म, सहमति र समझदारी बन्ने छ भन्ने विश्वास गरेको छु । हामी सहमतिको नजिकै छौं ।’

प्रधानमन्त्रीले गत वर्ष नीति कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा पर्याप्त समय लिएर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेको भए पनि अबरोधका बीच संसदमा उठेका प्रश्नहरुको जवाफ दिनु परेकोले नमिठो लागेको बताए । उनले यो स्थितिको अन्त्य गर्नै पर्ने बताए ।


क्लिकमान्डु