मंगलबार १ बजे बजेट भाषण, कांग्रेसले के गर्ला ?



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउने छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको बताए ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ ।

मंगलबार १ बजेसम्म दलहरुबीच सहमति नभए उक्त दिन पनि कांग्रेसको नाराबाजीबीच संसदमा बजेट पेस हुने सम्भावना छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा सदनको गतिरोध अन्त्यको प्रयास भइरहेकाले बजेट वक्तव्यसम्म पुग्दा समझदारी जुट्ने विश्वास व्यक्त गरे ।

आफूले गतिरोध अन्त्यको प्रयास गरिरहेको उनको भनाइ छ ।

‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्षी दलका नेताहरूसँग छलफलको आयोजना गरिराखेको छु। यो गतिरोधको अन्त्य गर्नका निम्ति प्रयास भइराखेको छ। र, हामी सहमति र सहकार्यको धेरै नजिक पुगेको पनि बेलाबेलामा महसुस गरेका छौं। आज बिहान पनि प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस सभापतिजीको घर बूढानीलकण्ठमै पुगेर सहमतिको प्रयास गरेको छ। मलाई आज र भोलि, बजेट वक्तव्य पढ्ने बेलासम्म, सहमति र समझदारी बन्ने छ भन्ने विश्वास गरेको छु। हामी सहमतिको नजिकै छौं,’ उनले भने।


क्लिकमान्डु