चिनियाँले अलपत्र पारेको त्रिशुली-थ्री ‘बी’को ठेक्कामा ६ कम्पनीको प्राविधिक प्रस्ताव पास, कसले हात पार्ला ?



काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले त्रिशुली-थ्री ‘बी’ जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणका लागि निकालेको ठेक्कामा ६ वटा कम्पनी प्राविधिक प्रस्तावमा पास भएका छन् ।

वाइबा इन्फ्राटेक प्रालि, हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन प्रालि, साई/आरएससी जेभी,सीई कन्स्ट्रक्सन, तुण्डी कन्स्ट्रक्सन प्रालि र फेवा कन्स्ट्रक्सन प्राविधिक प्रस्तावमा पास भएका हुन् ।

कम्पनी निकालेको ठेक्कामा आवेदन दिएकामध्ये ६ वटा कम्पनी प्राविधिक प्रस्ताव पास भएका हुन् । पास भएका कम्पनीमध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछ । जेठ १८ गते दिउँसो २ बजे त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको कार्यालय, वनस्थलीमा वित्तीय प्रस्ताव खोल्न लागिएको छ ।

३७ मेगावाट जडित क्षमता भएको यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिचुआन एएनएचईले पाएको थियो। धमाधम काम भइरहेको थियो । यो कम्पनीलाई चिनियाँ सरकारी कम्पनी स्वीफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले प्राप्ती गर्‍यो । त्यसपछि व्यवस्थापनको समस्या देखाउदै कम्पनीले काम नै रोक्यो ।

३६ महिनामा सक्ने २०७४ सालमा  कम्पनीले ठेक्का पाएको थियो । ठेक्का लागेपछि कोभिडका कारण करिब १५ महिना काम प्रभावित भयो । कोरोनकाल सकिएर केहि समय काम भयो ।

कम्पनीका अनुसार कुल ३८०५ मिटर सुरुङमार्गमध्ये ३४०० मिटर सुरुङमार्ग खन्ने काम सकिएको छ । ४०५ मिटर खनेपछि यो सुरुङमार्ग ‘ब्रेक थ्र’ हुन्छ । पुरै सुरुङमार्ग फिनिसिङको काम भने बाँकी नै छ ।

सर्ज ट्यांकको पूरै काम बाँकी छ । करिब १७५ मिटर पेनस्टक पाइप राख्नुपर्छ । स्लोव प्रोटेक्सनको काम २५ प्रतिशत पूरा भएको छ । बाँकी सम्पूर्ण संरचना निर्माणको काम बाकीँ रहेको कम्पनीले जनाएको छ ।

यो परियोजनाको ६६ प्रतिशत काम पूरा भएको छ । ८ अर्ब २२ करोड रुपैयाँमा आयोजनाको ठेक्का चिनियाँ कम्पनीलाई दिएको थियो । ६० मेगावाटको त्रिशुली-थ्री ‘ए’ जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो ।


क्लिकमान्डु