अर्थतन्त्रमा प्रादेशिक योगदान: बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम



काठमाडौं । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।

जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्याङ्क कार्यालयले गरेको छ ।

कार्यालयका अनुसार गत आव २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ । “गत वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।

चालु आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब हुने अनुमान गरिएको छ । देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आवश्यक नीति निर्माणका लागि तथ्याङ्क कार्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।

चालु आवको प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यस्तै, कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१, मधेसको तीन दशमलव ७८, बागमतीको तीन दशमलव ९६ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको छ भने आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिएको छ ।

कोशी प्रदेश कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु नौ खर्ब तीन अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु आठ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

मधेस प्रदेशको चालु आवका लागि करिब रु सात खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब तीन अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार बागमती प्रदेशको जिडिपी चालु आवमा करिब २० खर्ब ७५ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब १९ खर्ब ३८ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा पाँच खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब चार खर्ब ८४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब आठ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब सात खर्ब ६४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा करिब दुई खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब दुई खर्ब २९ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब चार खर्ब चार अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब तीन खर्ब ८१ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।


क्लिकमान्डु