सुपर तल्लो बागमतीमा लक्ष्मी सनराइज बैंककाे अगुवाइमा लगानी गर्ने सम्झौता



काठमाडौं । ४१.३१४  मेगावाटको सुपर तल्लो बागमती जलविद्युत् परियोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा लगानी गर्ने सम्झौता भएको छ ।

लक्ष्मी सनराईज बैंक लिमिटेड नेतृत्वको सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको हो ।

ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा पहिचान भएको  सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । यो आयोजना निर्माणका लागि  ९ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्धक/ संस्थापकहरुको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सनराईज बैंकको कर्जा प्रतिवद्धता ३ अर्ब ४ करोड रुपैयाँ छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह-अगुवा एभरेष्ट बैंकले २ अर्ब ५ करोड रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब रुपैयाँ लगानी छ ।

सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि उत्पादन अनुमति पत्र लिएको थियो । २०८० असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत भएको छ ।

यो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एएनके कन्स्ट्रक्सन छन । यो आयोजनाबाट २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।


क्लिकमान्डु