बजेट अनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह, कर्णालीमा लगानी सम्मेलन गरिने



कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनको क्रममा मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले यस्तो यस्तो बताएका हुन् । प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणका परियोजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले भने, “कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाईँहामीले गरेका सबै अपेक्षा पूरा हुन सक्दैनन् ।”

क्षेत्र र भूमिका फरक भए पनि सरकार र निजी क्षेत्रको गन्तव्य एउटै रहेको भन्दै कँडेलले कर्णाली बनाउनका लागि निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने पनि बताएका थिए । समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्नुपर्ने पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

यसैबीच कर्णालीको विकासका लागि सबैको सहयोगबाट आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा सङ्घीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीले कर्णालीको पानी, खानी, विद्युत्, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए।


क्लिकमान्डु