नयाँ रेकर्ड राख्दै कामीरिता ३०औँ पटक सगरमाथा शिखरमा



काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।

“कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,”, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भनेका छन् । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र सहयोगी शेर्पा गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकको रुपमा चिनिन्छन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा धेरै आरोहण गरेको कीर्तिमान छ ।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेको बताइएको छ ।


क्लिकमान्डु