पोल भाडा नतिर्ने इन्टरनेटको टेलिकमले लाइन काट्ने, प्राधिकरणले बिजुली नदिने



काठमाडौं । पोल भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायक तथा केवल टीभी अपरेटरको नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणले लाइन काट्ने तथा बिजुली आपूर्ति नै रोक्नेसम्मको चेतावनी दिएका छन् ।

काठमाडौं उपत्यकमा लामो समय चलेको विवाद समाधानसँगै अब इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले उपत्यका बाहिरका जिल्लाहरुमा पनि पोल भाडा नतिरेको भन्दै प्राधिकरणले लाइन काट्ने चेतावनी आएको छ ।

नेपाल टेलिकमले मंगलबार सार्वजनिक सूचना जारी गरेर कोशी प्रदेशभित्र पोलहरु प्रयोग गरेवापत केवल टीभी अपरेटर र आइएसपीले भाडा भाडा नतिरेको भन्दै लाइन काट्ने चेतावनी दिएको हो । आईएसपीहरुले टेलिकमको पोल प्रयोग गरेवापत भाडा नतिरेपछि बाध्य भएर लाइन काट्नेसम्मको चेतावनी दिनुपरेको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।

टेलिकमले आइएसपीहरुलाई सम्झौता अनुसार नै आर्थिक वर्ष २०८०/८१ सम्मको पोलभाडा यही जेठभित्रै तिर्न ताकेता गरेको छ । जेठभित्र पोलभाडा नतिर्ने आइएसपीको असार १ गतेबाटै टेलिकमले लाइन काटिदिने सूचना जारी गरेको छ । टेलिकमले कोशी प्रदेशका लागि जारी गरेको यस्तो सूचना अनुसार नजिककै टेलिकम कार्यालयमा पुगेर पोल भाडा तिर्ने इन्टरनेट तथा केबल टीभीको सेवामा भने कुनै अवरोध नगर्ने पनि स्पष्ट पारेको छ ।

यस अघि गत वैशाख २६ गते नेपाल विद्युत् प्राधिकरणले पनि पोल भाडा नतिर्ने आइएसपीहरुको पनि बिजुलीको लाइन मर्मत तथा नयाँ वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

प्राधिकरणले भने सातै प्रदेशका पैसा नतिर्ने आइएसपीहरुको लाइन मर्मत नगर्ने र नयाँ जडान पनि रोक्ने निर्णयको छ । प्राधिकरणका अनुसार आइएसपीले पोल भाडा नबुझाएसम्म सम्बन्धित आइएसपीको लाइन काटिन सक्नेसहितको चेतावनी दिएको छ ।


क्लिकमान्डु