गृहमन्त्री लामिछाने संसदमा असभ्य र हिंस्रक रुपमा प्रस्तुत भए, घोर भर्त्सना गर्छौं: कांग्रेस

गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोप छानबिन गरी प्रमाणित गरियोस्



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकारणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन आफूहरुको बटम लाइन भएको स्पष्ट पारेको छ ।

सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रमेश लेखकले विभिन्न सहकारीमा करोडौं रुपैयाँ ठगी भएको र सहकारी ठगीमा गृहमन्त्री प्रत्यक्ष संलग्न भएको प्रमाणहरु रहेको भन्दै छानबिन समिति आवश्यक रहेको बताए ।

‘हामीले सहकारी ठगीको छानबिन, संलग्न रवि लामिछाने र ठगी गर्ने मानिस र सहकारीलाई कडा कारबाहीका लागि यसको निष्पक्ष छानबिनका लागि संसदीय छानबिनको निर्णय यसअघि नै गरेका छौं । त्यही निर्णयमा दृण छौं । त्यो हाम्रो बटम लाइन हो’ उनले भने ।

लेखकले आइतबार रवि लामिछाने प्रतिनिधि सभा बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको आरोप लगाए ।

‘हिजो गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा जे कुराहरु बोलेका छन् ति असत्य, असभ्य, भ्रामक, कपोलकल्पिक र हिंस्रक ढंगले प्रस्तुत भएका छन्,’ लेखकले भने, ‘ उपप्रधान एवं गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेका मानिसले अरुमाथि प्रश्न गर्ने होइन, उहाँले जावफ दिने हो अभियोगबाट भाग्ने प्रयत्न गर्नु भयो आफूमाथि लागेको आरोपबाट भाग्न खोज्नुभयो, उहाँ असभ्य र हिंस्रक रुपमा प्रस्तुत हुनु भएको छ । कांग्रेसले यसको घोर भर्त्सना गर्ने निर्णय गरेको छ ।’

बैठकले गृहमन्त्रीले नेपाली कांग्रेसलाई लक्षित गरेर लगाएका आरोपबारे निषपक्ष छानबिन गर्न नेपाली कांग्रेस खुला रहेको निर्णय गरेको उनले बताए ।


क्लिकमान्डु