रविलाई गगनले भने: म प्रसुति गृहमा जन्मिएको हो त्यो बेलादेखि नै छानबिन गर्नुस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आरोप लगाएका सबै विषयमा छानबिन समिति बनाउन आग्रह गरेका छन् ।

उनले आफू प्रशुति गृहमा जन्मिएको भन्दै त्यसबेला देखिको अनुसन्धान गर्न थापाले आग्रह गरे ।

आइतबार प्रतिनिधि सभाको बैठकबाट गृहमन्त्री रवि लामिछानेले आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै थापाले संसद र नागरिकलाई बहकाउन खोजेको आरोप लगाए ।

उनले रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको दाबी हावादारी भएको बताए ।

‘हामीले पटक पटक भनिसक्यौं प्रधानमन्त्रीको हावादारी कुरा हो,’ उनले भने, ‘राजनीतिक दलहरुबीच भएका संवादलाई कसरी अघि बढाउने भन्ने कुरा उहाँले पनि बुझ्नुपर्छ ।’

लामिछाने गृहमन्त्री भए पनि टिभीमा कार्यक्रम प्रस्तोताको जस्तो अवस्थामा देखिएको थापाले बताए ।

‘घाँटी घोक्रो फुलाएर काराउनु हुन्थ्यो कहिले विद्यानष्ट आमाकशम भन्नुहुन्थ्यो,’ थापाले भने, ‘कहिले नाकको डाँडीभाच्छु, कहिले ठूलो मुटु भन्दै साइज देखाउनु हुन्छ । उहाँले आज गृमन्त्री भएको बिर्सनु भयो जस्तो छ । त्यसमा पनि उपप्रधानमन्त्री उहाँ ।’

तेरो फाइल खोल्दिउ भनेर गृहमन्त्रीले बारम्बार भनेर धम्की दिने गरेको थापाले बताए ।

‘मेरो बिरोध गर्छस् भने तेरो पनि गरिदिउँ भन्ने,’ थापाले भने, ‘गृहमन्त्रीले धमाधम खोल्ने हो नि कारबाही गर्ने हो ।’

लामिछानेले यसमा पनि समिति बनाउनु पर्छ उसमा पनि बनाउनु पर्छ भनेको भन्दै थापाले भने, ‘गृहमन्त्रीले भनिनसकेपछि यहाँले आज जुन जुन विषयमा भन्नु भएको छ त्यो सबै समिति बनाए हुन्छ ।’

रास्वपालाई समितिमा नराखि समिति बन्न लागेको भन्दै लामिछानेले रोष्ट्रमबाट प्रश्न गरेको भन्दै थापाले भने, ‘तपाई समितिमा बस्नु पर्दैन, एमाले बस्छ । एमालेले सहकारी नउठाउने, तपाईंले गिरीबन्धु नउठाउने भएपछि किन चाहियो र ?’


क्लिकमान्डु