गिरीबन्धुको जग्गा कांग्रेसले बेचेको ओलीको आरोपपछि देउवाको ‘काउन्टर’: आफू निर्णय गर्ने अनि कांग्रेसलाई भन्ने ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा अदालतले फैसला गरेपछि गिरीबन्धु टि-इस्टेटको निर्णय कांग्रेसको पालामा भएको ओलीले बताएको भन्दै आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति भन्दै प्रश्न गरे ।
केपी ओली जत्तिको नेताले यस्तो भन्न नसुहाउने उनले बताए ।

यसअघि बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-इस्टेटको जग्गा कांग्रेसले बेचेको आरोप लगाएका थिए । त्यसको काउन्टरमा देउवाले आफूले गरेको काममा कांग्रेसलाई आरोप लगाउन नमिल्ने बताएका हुन् ।

‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टि-इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि,’ देउवाले भने, ‘त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ।’

उनले कांग्रेसको पालामा यस्तो निर्णय नभएको बताए ।

‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ,’ देउवाले भने, ‘कांग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’


क्लिकमान्डु