कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो, संसद्‍मा अब हामी बोल्छौं: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि-इस्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।

ओली नेतृत्वको सरकारले गिरीबन्धु टि-इस्टेटको जग्गामा सट्टापट्टा गर्ने निर्णयलाई सर्वोच्च अदालतले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ निर्णयको संज्ञा दिँदै खारेज गरेपछि ओलीले उक्त जग्गा कांग्रेसले बेचेको आरोप लगाएका हुन् ।

कांग्रेसका कतिपय नेताले वदनियत राखेर निर्णय गर्ने गराउने ओली मन्त्रिपरिषद्माथि थप अनुसन्धान गर्नुपर्ने माग गरिरहँदा बुधवार पार्टी संसदीय दलको बैठकमा ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिघा र ५१ बिघा टि-इस्टेटको जमिन कमिसन खाएर बेचेको आरोप लगाउँदै छाबिन गर्नुपर्ने बताए ।

कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको उनको भनाइ छ ।

‘म भन्न चाहन्छु कांग्रेसले ५१ बिघा र १९ बिघा गरेर ७० बिघा गिरीबन्धु टि- इस्टेटको जमिन कमिसन खाएर बेच्न दिएको विषमा छानबिन हुनुपर्छ । कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ । त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएरमात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौं,‘ ओलीले भने, ‘कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसले गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराईरहनुपर्ने हुन्छ ? पार्लियोमेण्ट भनेको त्यही हो ?’

उनले कांग्रेसले एउटा विषयमा कुरा चलिरहँदा अर्को विषय उठाएर संसदको समय खेर फालिरहेको उनले बताए ।

‘चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ?’ उनले गृहमन्त्री लामिछानेलाई कांग्रेसले न्यायाधीश जसरी फैसला सुनाइरहेको भन्दै उनले भने, ‘कांग्रेसले नै अभियोजन चलाई हाल्ने ? कांग्रेसले नै फैसला पनि ठोकि हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ । त्यति भन्छु । ’


क्लिकमान्डु