सबै सरकारी उद्योगलाई निजीकरण गर्ने पाकिस्तानी सरकारको घोषणा



२०२९ सम्ममा सबै सरकारी कम्पनीलाई निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा । अन्तर्राष्ट्रिय विमानस्थलसहित २५ उद्योगलाई निजीकरणका लागि सूचीकृत गरियो ।

एजेन्सी । पाकिस्तानका सबै सरकारी उद्योगहरु निजीकरण गरिने यहाँका प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् । रणनीतिक संस्थानहरु वाहेक सबै सरकारी उद्योगहरुलाई निजीकरण गरिने प्रधानमन्त्री शरिफले बताएका हुन् ।

घाटामा चल्ने राज्यका उद्योगहरुलाई मात्रै विक्री गर्ने प्रारम्भिक योजनालाई विस्तार गर्दै प्रधानमन्त्रीले यस्तो योजना सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको सूचना अनुसार यो प्रक्रिया २०२४ देखि २०२९ को अवधिमा ती संस्थानहरुला निजीकरण गरिनेछ ।

“नाफामा होस् वा घाटामा सबै सरकारी उद्योगहरुलाई निजीकरण गरिनेछ । यसले करदाताहरुको रकम सुरक्षित गर्नेछ,” शरिफले भनेका छन् । सरकारले रणनीतिक क्षेत्रका उद्योगलाई निजीकरण नगर्ने भने पनि ती कुन् कुन् हुन् भनेर स्पस्ट पारेको छैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनले इस्लामाबादमा नयाँ दीर्घकालीन विस्तारित कोष सहायताका लागि वार्ता गरेको एक दिनपछि प्रधानमन्त्री शरिफको यस्तो घोषणा आएको हो । जवकि गत महिना पाकिस्तानले ३ अर्ब डलरको अतिरिक्त व्यवस्था पूरा गरेको थियो ।

पाकिस्तानका कम्पनीहरु लामो समयदेखि वित्तीय संघर्षको सामना गरिरहेका छन् । विदेशी मुद्रा सिँचितिले दुई महिनाको आयात धान्न पनि मुस्किलले पुग्ने गरेको बताइन्छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सरकारले २५ वटा संस्थान र सम्पत्तिहरुलाई निजीकरणको सूचीमा राखेको छ । जसमध्ये पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थल पनि समावेश रहेको बताइएको छ ।


क्लिकमान्डु