मन्त्री क्वाटरमा बजेट बनिरहेको समाचारले भौतिक मन्त्रालयमा खैलाबैला



काठमाडौं । मन्त्री क्वाटरमा बजेट बनिरहेको समाचार क्लिकमान्डुमा संप्रेषण भएपछि उपप्रधान समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कर्मचारीहरुसँग आक्रोशित बनेका छन् ।

मंगलबार क्लिकमान्डुमा भौतिक मन्त्रालयको बजेट मन्त्रीक्वाटरमा बन्दै, खुद्रे योजनामा बजेट बाँड्ने मन्त्रीको तयारी’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि मन्त्री महासेठले मन्त्रालयका उच्च तहका कर्मचारीलाई सञ्चारमाध्यममा सूचना कसले दियो भन्दै ‘थर्काए’का थिए ।

त्यसपछि कर्मचारीहरुसँग उनले मन्त्रीक्वाटरमा केहि काम नै गर्न नहुने हो र ? भन्दै प्रश्न गरेका थिए । मन्त्रालयमा योजना माग्नेहरुको भीडले हो-हल्ला भएकाले केहि काम क्वार्टरबाटै गरेको उनको भनाइ थियो ।

स्रोतका अनुसार महासेठले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई उपेक्षा गर्दै आफ्नो क्वाटरमा आगामी आर्थिक वर्षको बजेट ‘एक्सल सिट’मा बनाइरहेका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन २ साता मात्रै समय हुँदा समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रयलाई टुंगो लगाउन नसक्दा समग्र बजेट निर्माण तथा आयोजनाको प्राथमिकिकरण गर्ने विषय रोकिएको हो ।

महासेठले आफ्ना खुद्रे योजनाहरु बजेटमा समावेश गर्न लागि परेका छन् ।


क्लिकमान्डु