नीति तथा कार्यक्रममा सहकारीका विषय प्राथमिकतामा पर्दा महासंघ उत्साहित



काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषय प्राथमिकतामा राखेको भन्दै राष्ट्रिय सहकारी महासंघ उत्साहित भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषयलाई प्राथमिकतामा राखेकोमा राष्ट्रिय सहकारी महासंघ उत्साहित बनेको हो ।

‘लामो समयको प्रतिक्षापछि सहकारी क्षेत्रले उठाएका चासोलाई सरकारले ल्याएका नीति तथा कार्यक्रममा गम्भीरतापूर्वक सम्बोधन भएकोमा यसको हृदयदेखि नै स्वागत गर्दछौं’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी आर्थिक वर्षमा पछिल्लो समयमा देखा परेका चुनौतीहरू सामना गर्न सहकारीको सुपरिवेक्षण र नियमनका लागि विशिष्टकृत निकायको स्थापना गर्ने नीतिले नेपालको सहकारी अभियानलाई दिगो, मर्यादित र सहकारी अभियानको सुशासनलाई सुदृढ पार्ने अपेक्षा राखेका छौं ।’

सहकारीको बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र जस्ता प्रमुख संयन्त्रहरूको स्थापना गर्ने तथा बचत तथा ऋणका सहकारीको एकीकरणलाई प्रोत्साहन गर्ने नीतिहरूले सहकारी क्षेत्रको वित्तीय स्थायित्व र लचिलोपनलाई सुदृढ पार्ने सरकारको प्रतिबद्धतालाई महासंघले स्वागत गरेको जनाएको छ ।

सहकारी नीतिलाई समसामयिक आवश्यकता अनुसार परिमार्जन गर्ने सरकारको प्रतिबद्धता यसको उत्तरदायित्व र दूरदर्शिताको प्रमाण हो भन्ने अभियानको बुझाइ रहेको जनाएको छ । महासंघले समग्र सहकारी अभियानकोतर्फबाट नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेको छ ।


क्लिकमान्डु