सम्भाव्यताका आधारमा उद्योगहरु सञ्चालनमा ल्याइने : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्भाव्यता अध्ययनका आधारमा गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योग र हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याइने बताएका छन् । निजी साझेदारी वा उपयुक्त मोडेलमा आधारित भएर ती उद्योगहरु सञ्चालनमा ल्याइने उनले बताए ।

मंगलबार संसद्‍को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले निजी लगानीमा सञ्चालन हुने उद्योगलाई प्रवद्र्धन गर्ने बताए । त्यसका लागि व्यावसायिक वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

यस क्रममा राष्ट्रपति पौडेलले आर्थिक वृद्धिदरमा सुधार आएको बताएका छन् । वर्तमान सरकारले आर्थिक सुधार तथा भ्रष्टाचार नियन्त्रणमा मुख्य जोड दिएको पनि उनले बताए । साथै सामाजिक न्याय, अर्थतन्त्रको सवलीकरणलाई सरकारले केन्द्रमा राखेको बताए ।

यस्तै धानको उत्पादनमा वृद्धि भएको पनि उनको भनाइ थियो । साथै मुद्रा स्फिति घटेको र बैंकको ब्याजदरसमेत घटेकोले अर्थतन्त्र सहज भएको नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले देशभर विद्युत पहुँच बढेको र जलविद्युत उत्पादनमा सहजता आएको पनि बताएका छन् ।


क्लिकमान्डु