मलेसियाबाट युएई पुगेको सूचनापछि जीबी राईको पासपोर्ट रद्द गर्न विभागलाई पत्र
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न प्रहरीले राहदानी विभागलाई पत्र लेखेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो ।
यसअघि मलेसियामा रहेका भनिएका राई संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी रद्द गर्न लागिएको प्रहरी स्रोतको भनाइ छ ।
राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको भएको भए पनि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका राई अध्यक्ष थिए। उनी ग्यालेक्सी फोर-केका सञ्चालक समेत थिए, जहाँ लामिछानेको पनि सेयर थियो ।