काठमाडौं । नेपाल टेलिकमको आम्दानी आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २ अर्ब ३७ करोड रुपैयाँले घटेको छ ।
टेलिकमले चालु आवको तेस्रो त्रैमासिक सम्ममा ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी गत आव २०७९/८० को सोही अवधिमा ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ गरेको थियो । यस्तो आम्दानी गत आवको तुलनामा चालु आवको सोही अवधीमा २ अर्ब ३७ लाख ७ हजार (६.०३ प्रतिशत) ले कम देखिएको छ ।
टेलिकमको चालु आवको तेस्रो त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ रहेको छ। उक्त रकम गत आवको सोही अवधि २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको थियो । गत अवको तुलनामा टेलिकमको सञ्चालन आयसमेत १ अर्ब ८६ करोड ५३ लाख ५८ हजार (६.८२ प्रतिशत) ले घटेको टेलिकमले जानकारी दिएको छ ।
आम्दानी घट्दा पनि टेलिकमको खुद नाफा भने ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रहेको छ । यस्तो खुद नाफा रकम गत आब २०७९/८० मा ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ थियो। गत वर्षको तुलनामा टेलिकमको यस्तो खुद नाफा १८ करोड १७ लाख ९३ हजार (अर्थात, ३.३६ प्रतिशत) ले बढी देखिएको छ ।
टेलिकमको प्रति सेयर आम्दानी चालु आवको तेस्रो त्रैमाससम्ममा ४१.४४ रुपैयाँ रहेको छ ।
गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुका प्रमुख कारणहरु ओटीटी सेवाको बढ्दो प्रयोग बढेको उल्लेख छ भने अन्तरआवद्धता आयमा गत आबको तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब ९४ करोड ४९ लाख २९ हजारले कमी आएको छ ।
राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको टेलिकमको भनाइ छ ।
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको र बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ५० करोड ७४ लाख रुपैयाँले कमी आएको पनि टेलिकमले बताएको छ ।
प्रतिक्रिया