बजेट ल्याउन काठमाडौं महानगरको गृहकार्य सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न गृहकार्य सुरु गरेको छ ।

कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्ने तयारी भइरहेको बताइन ।

‘विषयगत समितिहरुको बैठकबाट चालु आवको समीक्षा र आगामी आवको कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणलाई सङ्कलन गरी ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संसाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ’, उनले भनिन ।

योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मङ्सिरबाट सुरु हुने उपप्रमुख डङ्गोलले बताइन। विषयगत क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो । उक्त काम विषयगत विभाग, महाशाखा र शाखाले मङ्सिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ ।

माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ । यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ । कामपामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ ।

फागुनदेखि ‘स्रोत अनुमान र कूल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ । सङ्घ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने, सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कूल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ ।

विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र साङ्केतीकरण, बजेट (राजस्व, व्यय र वित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी सङ्घसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पर्नुपर्ने उपप्रमुख डङ्गोलले जानकारी दिइन् ।

‘यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्छ । यसरी पेस गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनुपर्छ । यसरी योजना तर्जुमाका चरण पूरा हुन्छ’, उनले भनिन ।

यही वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरिसकेको कामपा कार्यालयले जनाएको छ ।


क्लिकमान्डु